अफगानिस्तानको बामियान प्रान्तमा गोली हानी चार जनाको हत्या

अफगानिस्तानको बामियान प्रान्तमा गोली हानी चार जनाको हत्या


एजेन्सी ।

अफगानिस्तानको बामियान प्रान्तमा गोलीबारी हुँदा ४ जनाको मृत्यु भएको छ। शुक्रबार भएको गोलीबारीबाट तीन जना विदेशी र एक जना अफगान नागरिकको मृत्यु भएको हो।

त्यहाँको आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले मध्य अफगानिस्तानको बामियान प्रान्तमा शुक्रबार भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकसहित चार जनाको मृत्यु भएको पुष्टि गरे। उनले भने ‘‘गोलीबारीमा चार विदेशी र तीन अफगानी घाइते भएका छन्।’ चार संदिग्धलाई पक्राउ गरिएको अधिकारीले बताए। उनले विदेशी नागरिकको राष्ट्रियता भने खुलाएनन्।

स्पेनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उक्त हमलामा तीन जना स्पेनी नागरिक मारिएको र कम्तीमा एक जना घाइते भएको बताएको छ। प्रमुख पर्यटकीय क्षेत्र बामियान प्रान्तमा भएको घटनामा चार संदिग्धलाई घटनास्थलबाटै पक्राउ गरिएको र अनुसन्धान जारी रहेको अब्दुल मतिन कानीले जानकारी दिए। बेलुका भएको आक्रमणको कसैले जिम्मेवारी लिएको छैन।