काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह, प्रधानमन्त्री देउवाले गरे उद्घाटन


काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री देउवाले औपचारिक रुपमा बन्दरगाह उद्घाटन गर्नुभएको हो । वीरगञ्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर आजदेखि बन्दरगाह सञ्चालनमा ल्याइएको छ । बन्दरगाह सञ्चालनमा आएपछि अब व्यवसायीले आयात गरेको वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने छन् ।
चोभारमा सुख्खा बन्दरगाहको समुद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यसले मुलुकमा आयातनिर्यातको व्यापारलाई सहज गर्ने बताउनुभएको छ । व्यापारको लागत घटाउन, आयात निर्यातमा सहयोग पु¥याउन सक्ने र काठमाडौंबाट हुने वस्तु तथा सेवाको व्यापार थप सहजीकरण गर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो ।
‘यो सुख्खा बन्दरगाहा सञ्चालनमा आएपश्चात् छिमेकी मुलुक र अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न कोशेढुंगाको रुपमा लिएको छु । यस प्रकारका पूर्वाधारको विकासमा मद्दत पुग्नेमा दुइमत छैन,’ उहाँले भन्नुभयो । यस कुरालाई आत्मसात् गरी नेपाल सरकारले मुलुकका विभिन्न ठाउँमा सुख्खा बन्दरगाह निर्माण गरिने विषय प्राथमिकतामा रहेको पनि उहाँले बताउनुभयो ।
देशमा औद्योगिक विकास, रोजगारीको सिर्जना, अर्थतन्त्रको पुर्नस्थापनाका लागि विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि नीतिगत संरचना एवम् प्रशासकीय विभिन्न कार्यक्रमहरु पनि कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।
देशको व्यापार घाटा कम गर्ने प्रतिस्पर्धाको क्षेत्रमा स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनशील क्षेत्रमा जोड दिनुपर्ने उहाँको भनाइ छ । यससँगै नेपालमा रेलको आवश्यकता रहेको तर यसका लागि धेरै खर्च लाग्ने हुँदा दातृ राष्ट्रसँग सस्तो ब्याजदरमा ऋणमार्फत यो प्रक्रिया अगाडि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो ।