लामिछानेलाई क्यानले आईसीसी टी–२० विश्वकप खेल्न पठाउने

लामिछानेलाई क्यानले आईसीसी टी–२० विश्वकप खेल्न पठाउने


काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ।

जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै लामिछाने निलम्बनमा परेका थिए। बुधबार उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेसँगै क्यानले बाँकी प्रक्रिया अगाडि बढाउन साँझ नै छलफल गरि निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यसमिति सदस्य दुर्गाराज पाठकले बताए।

‘अन्ततः उनले ९सन्दीपले० न्याय पाएका छन्। सन्दीपको निलम्बन फुकुवा गर्ने देखि विश्वकपमा पठाउनेबारे छलफल गर्न क्यानले आज साँझ नै छलफल गर्दै छ । क्यानले उनलाई विश्वकप खेल्न पठाउँछ,’पाठकले भने।

नेपालले यसअघि नै विश्वकप खेल्ने टोलीको टुंगो लगाइसकेको छ। सन्दीपको ठाउँमा क्यानले लेग स्पिनर सागर ढकाललाई पठाएको थियो। अब कुन खेलाडीलाई हटाउने भन्नेबारे टिम क्याप्टेन र मुख्य प्रशिक्षकले निर्णय गर्ने समेत पाठकको भनाइ छ।

बैठकले सन्दीपको निलम्बन फुकुवा गरेसँगै टी २० विश्वकप खेल्न जानका लागि प्रक्रिया अघि बढ्ने छ। विश्वकप खेल्ने टोली पहिला घोषणा गरे पनि मे २५ तारिखसम्म फेरबदल गर्न पाइने व्यवस्था छ।