मदनकृष्ण हरिवंशको अविस्मरणीय कार्यक्रम मेलबर्नमा, एक हजार दर्शकले हेर्न पाउने !

मदनकृष्ण हरिवंशको अविस्मरणीय कार्यक्रम मेलबर्नमा, एक हजार दर्शकले हेर्न पाउने !


मेलबर्न, अष्ट्रेलिया ।

सोलाङचरको आयोजनामा जुन ८ तारिख शनिबार मेलबर्नमा महजात्रा आयोजना हुने भएको छ । १० वर्षपछि गर्न लागिएको यो कार्यक्रम अविस्मरणीय हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपालको हाँस्यव्यंग्य क्षेत्रका दिग्गज मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै महसञ्चार टिमका किरण केसी, नरेन्द्र कंशाकार पनि सहभागी हुँदैछन् । मेलबर्नको रिसाईटल सेन्टरमा आयोजना गरिने कार्यक्रमको तयारी धमाधम अघि बढेको कार्यक्रम संयोजक नोर्गेन नोर्बुले केविसीखबरलाई जानकारी दिए । यस पटकको महजात्रामा गायिका कुन्ति मोक्तान पनि सहभागी हुनेछिन् । कार्यक्रम साँझ साढे ६ बजेदेखि हुनेछ ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रहसन त हुने नै छ हाँस्य दोहोरीले पनि कार्यक्रममा रौनक थप्ने जानकारी उनले दिए । यस्तै हरिवंश आचार्यको एकल प्रस्तुति पनि रहने भएको छ । हाँस्यव्यंग्य मात्र होइन मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना चर्चित गीत पनि उक्त अवसरमा प्रस्तुत गर्नेछन् । नोर्बुका अनुसार कार्यक्रम तीन घण्टाको हुनेछ । उनले भने, “हामीले सन् २०१४ मा मदनकृष्ण हरिवंशको महयात्रा गरेका थियौं । त्यतिबेला मेलबर्नमा २ हजारभन्दा बढी दर्शकको साथ प्राप्त भएको थियो । यस पटक पनि त्यही ईतिहास दोहोराउने हाम्रो प्रयास रहनेछ ।”

कार्यक्रम आयोजक सोलाङचरको अफिसियल सोसियल साईटमा महलाई कार्यक्रमको तयारीबारे जानकारी दिँदै गरेको देख्न सकिन्छ । अष्ट्रेलियाका विभिन्न शहरमा हुने कार्यक्रमको लागि उत्साहित हुँदै हरिवंश आचार्यले भनेका छन् “हामी तपाईंहरुलाई भेट्न निकै उत्साही छौं । साथै यो पनि जानकारी गराउँ यस पटकको कार्यक्रमको कुनै अडियोभिडियो रेकर्ड गर्न पाइने छैन ।”

१० वर्षपछि आयोजना हुन लागेको महजात्रा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्थाका कारण पनि जोडीनै सहभागी कार्यक्रम फेरि अर्कोपटक कहिले गर्न सकिएला टुंगो छैन । यसैकारण आयोजकले “सम्भवत अष्ट्रेलियाको भूमिमा अन्तिम पटक महलाई एकसाथ हेर्न पाइने अवसर” भनेका छन् ।

कार्यक्रम संयोजक नोर्गेनले एक हजार मात्रै दर्शक क्षमता भएका कारण आफ्नो टिकट सुरक्षित गर्न पनि अनुरोध गरे । “हामीले अनलाईन टिकट बिक्री सुरु गरिसकेका छौं । हामी नेपालीहरुको अन्तिम समयमा टिकट खोज्ने बानी हुन्छ । तर, सबै टिकट बिक्री भइसकेपछि त्यतिबेला हामीले पनि केही गर्न सक्दैनौं ।” – उनले भने ।
महजात्राको टिकट यो लिंकमार्फत किन्न सकिनेछ Click Here