एनआरएन अष्ट्रेलियाको ‘मेन्टोरिङ प्रोग्राम’, पहिलो चरणमा ४० जनालाई सहयोग गरिने !

एनआरएन अष्ट्रेलियाको ‘मेन्टोरिङ प्रोग्राम’, पहिलो चरणमा ४० जनालाई सहयोग गरिने !


सिड्नी, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भर्खरै पढाई सकेर कामको खोजीमा रहेका या आफ्नो करिअरको सुरुवाती चरणमा रहेकाहरुलाई व्यवसायिक सफल व्यक्तित्वहरु, विभिन्न कार्यालयका मेनेजरहरु र आफैं व्यवसाय सञ्चालन गरिरहेका सफल व्यक्तित्वहरुबाट करिअर विकास, कामको खोजी लगायतमा सहायता गर्ने मेन्टोरिङ कार्यक्रम सार्वजनिक गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थाका महासचिव सन्तोष कुँवरले कार्यक्रममा सहभागी हुन आवेदन दिन सकिने जनाएका थिए । सहायता प्राप्त गर्न चाहनेहरु र सहायता गर्न चाहने विज्ञहरुलाई छुट्टा छुट्टै आवेदन माग गरिएको छ ।

एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र पछिल्लो समय बढ्दै गएको नेपाली विद्यार्थीहरुको संख्यासँगै उनीहरुलाई पढाई सकेपछि करिअरमा सघाउने लक्ष्यका साथ कार्यक्रम ल्याइएको बताउँछन् ।

केविसीखबरसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आवेदन आउने क्रम सुरु भएको बताए । उनले भने, मेन्टीहरु धेरै आइसकेका छन् । सबै आवेदन दिनेलाई नै हामीले सहयोग गर्नेभन्दा पनि सर्टलिष्ट गरेर हामीसँग उपलब्ध भएका मेन्टरहरुको क्षेत्र अनुसार म्याच गरेर काम अघि बढ्छ । १२ हप्ताको समय दिन्छौं । मेन्टर लुप भन्ने सफ्टवेयरले नै हामीले प्रयोग गर्नेछौं । यसले प्रोफाईल म्याच गर्छ । आवेदन आउने क्रम सकिएपछि त्यसपछि जुनको पहिलो साताबाट सर्टलिष्ट गर्ने काम सुरु हुन्छ ।

उनले मेन्टोरिङ कार्यक्रमबारे स्पष्ट पार्दै भने, “एउटै सिटीमा भएकोहरु प्रत्यक्ष भेट्न सक्नुहुन्छ । यदि छैन भने अन्य राज्यमा भए अनलाईनबाट नै पनि उहाँहरुबीच भेट गराउनेछौं, अन्तरक्रिया गराउनेछौं । यस क्रममा कतिपय क्षेत्रमा सिनियर लेभलमा भएकाहरुले आफ्नै कार्यालयमा पनि काम छ भने सहयोग गर्न सक्नुहुन्छ । हैन भने कामका लागि कसरी एप्रोच गर्ने, त्यहाँ कस्तो प्रस्तुति दिने ? लगायतका विषयहरुमा गाईड गर्नुहुनेछ । मेरो अनुभवले पनि कुनै ठाउँमा काम खोज्दा मेरो मेन्टर फलानो हो भनेर रेफ्रेन्स दिँदा पनि सहयोग पुग्छ ।”
एनआरएन अष्ट्रेलियाका अध्यक्ष पोखरेलले या पाईलट प्रोजेक्ट भएकोले सुरुमा बढीमा ४० जनालाई लिएर काम गर्ने जानकारी दिएका छन् । सफल भएमा यसलाई निरन्तरता दिइनेछ ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या बढेसँगै उनीहरुलाई पढाई अनुसारको काममा लगाउन भने समस्या हुने गरेको छ । अझ करिअरको सुरुवातमा राम्रो मार्गदर्शन हुन सक्ने हो भने यहाँका विभिन्न क्षेत्रमा नेपालीहरुको उल्लेख्य उपस्थिति बढ्दै जाने अपेक्षा छ । तर, अहिले पनि पढाई अघि जे काम गरिरहेको हो त्यसमा नै करिअर खोज्दै गरेका धेरै भेट्न सकिन्छ ।

मुख्यतः आईटी, म्यानेजमेन्ट, सरकारी जागिरहरु, ईन्जिनियर, स्वास्थ्य क्षेत्रमा नेपालीहरुको उपस्थिति छ । यिनै क्षेत्रमा कम्तिमा मेनेजर तहमा बसेर काम गरिरहेकाहरुबाट नै नयाँ भर्खरै पढाई सकाएका विद्यार्थीहरुलाई सहयोग, सल्लाह र प्रोत्साहन गराउने योजना रहेको छ ।