सन्दीपको कप्तानीमा नेपाललाई पहिलो उपाधि

सन्दीपको कप्तानीमा नेपाललाई पहिलो उपाधि


काठमाडौं, २१ चैत । नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । आज सोमवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेको हो ।
योसँगै नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको हो । यसअघि सन्दीपकै कप्तानीमा त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग भएको एकदिवसीय शृङ्खलामा नेपाल पराजित भएको थियो ।
नेपालले घरेलु मैदानमा लगातार दोस्रो उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित शृङ्खला जितेको थियो ।
दीपेन्द्र ’प्लेयर अफ दी सिरिज’, करण ’उत्कृष्ट बलर’
नेपाल, पीएनजी र मलेसिया सहभागी त्रिदेशीय टी–२० शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका दीपेन्द्रसिंह ऐरी घोषित भए । उनले प्रतियोगिताभरि पाँच खेलमा दुई सय ५५ रन बनाउनुका साथै सात विकेट पनि लिए । ऐरी आजको फाइनल खेलमा ‘प्लेयर अफ दी म्याच’ समेत भए ।
यस्तै नेपालकै करण केसी उत्कृष्ट बलर भएका छन् । उनले शृङ्खलाको पाँच खेलमा १३ विकेट लिए । उत्कृष्ट ब्याट्सम्यान भने पीएनजीका टोनी उरा भए ।