उम्मेदवारको नाम ४ दिनभित्र सिफारिस गर्न कांग्रेसको निर्देशन

उम्मेदवारको नाम ४ दिनभित्र सिफारिस गर्न कांग्रेसको निर्देशन


काठमाडौं, १८ चैत । नेपाली कांग्रेसले यही चैत २२ गते अर्थात् चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ । कांग्रेसले ७७ वटै जिल्लामार्फत सात सय ५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो ।
स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र मेयर, उपमेयरका उमेदवारको नाम आउँदो मङ्गलवारभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको नेपाली कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । कांग्रेसको विधानअनुसार उमेदवार चयन गरेर पठाउन निर्देशन गरिएको पौडेलले बताउनुभयो ।
कांग्रेसले पर्सि २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ । त्यस्तै चैत २२ गते पालिका तहमा बैठक बस्न भनिएको छ ।
बैठकले पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउनेछ । प्रदेशले प्रतिनिधि सभा क्षेत्रीय समितिलाई र प्रतिनिधि सभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था छ । वडाध्यक्षसहित वडाका उम्मेदवारको चयन प्रतिनिधि सभा क्षेत्रीय संसदीय समितिले टुङ्गो लगाउनेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला संसदीय समितिले टुङ्गो लगाउनेछ । नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार भने प्रदेश संसदीय समितिले टुङ्ग्याउने विधानले व्यवस्था गरेको छ ।