त्रिदेशीय टी–२० सिरिजमा नेपालको सुखद सुरुवात, पीएनजी १५ रनले पराजित

त्रिदेशीय टी–२० सिरिजमा नेपालको सुखद सुरुवात, पीएनजी १५ रनले पराजित


काठमाडौँ, १४ चैत । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हरायो ।
यस जितसँगै नेपालले एकदिवसीय सिरिजमा पीएनजीसँग घरेलु मैदानमा हारेको बदला समेत लिएको छ । नेपाल यसअघि दुई खेलको एकदिवसीय सिरिजमा पीएनजीसँग २–० पराजित भएको थियो । नेपालले दिएको एक सय ८४ रनको विजय लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा सवै विकेटको क्षतिमा एक सय ६८ रनमा समेटिएको थियो । पीएनजीका लागि नोरमान भानुअले सर्वाधिक ५२ रन बनाउनुभयो । सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाउनुभयो ।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले तीन तीन विकेट लिनुभयो । अविनाश बोहराले दुई तथा सोमपाल कामीले एक विकेट लिनुभयो । आक्रामक लयमा देखिएका भानुआलाई १८.५ ओभरमा करणले पभेलियन फर्काएपछि नेपालले रोमाञ्चक जितको बाटो पक्रिएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८३ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाउनुभयो । ३५ बलको सामना गर्नुभएका शेखले पाँच चौका र एक छक्का हान्नुभयो । रोहित पौडेलले ३४ रन बनाउनुभयो । आरिफ शेखले ३१, कुशल भुर्तेल २०, करण केसीले १४ र कुशल मल्लले ११ रन बनाउनुभयो । लोकेश बमले पाँच, दीपेन्द्रसिंह ऐरीले चार तथा सोमपाल कामी र कप्तान सन्दीप लामिछाने एक एक रन बनाउनुभयो ।
अविनास बोहरा सुन्य रनमा अविजित रहनुभएको थियो । बलिङमा पीएनजीका अलेइ नाओ, चाड सोपर र चाल्र्स एमिनीले दुई विकेट लिनुभयो । नोर्मान भानुआ र रिले हाकुरेले एक एक विकेट झार्नुभयो । यस खेलमा नेपालका कप्तान सन्दीप ‚प्लेयर अफ दि म्याच’ चुनिनुभयो ।
टी–२० सिरिजमा आयोजक नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । हरेक टोलीले दुई दुई वटा खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ । पहिलो जितसँगै नेपालले दुई अंक बनाएको छ । पीएनजीले हारबाट खेलको सुरुवात गरेको छ । मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ ।