स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता, पाँच वर्षमा ३६ लाख थपिए

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता, पाँच वर्षमा ३६ लाख थपिए


काठमाडौं, १३ चैत । आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।
जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् ।
पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।
आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालका अनुसार सबै जिल्लाबाट मतदाताको संख्या संकलन गरेर त्यसउपर छलफल, दावी विरोध र सच्याउने अवसर दिएर मतदाताहरुको अन्तिम नामावली तय गरिएको हो ।
२०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ को मंसिर १० गते र २१ गते भएको थियो । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।