एनबीएको नेपाली नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

एनबीएको नेपाली नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न


तास्मानिया अष्ट्रेलिया ।

नेप्लिज बिजेनेस एसोसिएसन अफ तास्मानिया (एनबीए)ले नेपाली नयाँ वर्ष २०८१ सालको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ। आइतबार होबार्टको क्लिएरमन्ट स्थित डाँफे नेप्लिज एण्ड इन्डियन रेष्टुरेन्टमा तास्मानियामा रहेका नेपाली व्यवसायी जम्मा भएर नयाँ वर्षको शुभकामना आदान–प्रदान गरेका हुन्। 

संस्थाका सचिव अरुण आचार्यले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने अध्यक्ष उमेश सुन्चेउरीले उपस्थित सबैलाई नेपाली नयाँ वर्षको शुभकामना दिएका थिए। अध्यक्ष सुन्चेउरीले कार्यक्रममा एनबीएले वर्षभरी गर्ने कामका बारेमा चर्चा गरेका थिए। उनले तास्मानियामा रहेका नेपाली व्यवसायीको सुख दुखमा साथ दिने साझा चौतारी बनेको भन्दै नेपाली व्यवसायीले झेल्नु परेका समस्या र राज्यबाट पाउनु पर्ने सुविधाका बारेमा एनबीएले अवाज उठाउँदै आएको स्मरण गराए। 

‘कनेक्ट एण्ड एलिभेट’ नाम दिएको उक्त कार्यक्रममा तास्मानियामा रहेका नेपाली व्यवसायीले आ–आफ्नो व्यवसायका विषयमा जानकारी आदान–प्रदान गरेका थिए। यहाँका नेपाली व्यवासायीबीच नेटवर्क स्थापना गर्नुका साथै सहकार्यको बातावरण निर्माण होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुन्चेउरीले बताए। 

कार्यक्रममा एनबीएका पूर्व अध्यक्ष रेवन्त बस्नेत, बोर्ड अफ डिरेक्टर अनिल श्रेष्ठ, अर्जुन प्रसाईँ लगायत तास्मानियामा रहेका नेपाली व्यवसायीको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा एनबीएमा आबद्ध भएका नयाँ नेपाली व्यवसायीलाई सदस्यताको प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा बोल्दै नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा)का कोषाध्यक्ष खगेन्द्र सत्यालले नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै एनबीलाई सशक्त र मजबुत बनाउँदै लैजानु पर्ने धारणा राखे। उनले एनबीलाई मजबुत बनाएमा यहाँको स्थानीय सरकारसँग आफ्ना समस्याहरू राख्न सकिने सुझाव दिए।

एनबीएले तास्मानियामा रहेर व्यवसाय गरिरहेका नेपाली भाषीहरूको हक हितको लागि खोलिएको एक गैरनाफामुलक सस्था हो। यसले यहाँका नेपाली व्यवसायीको हक हितको क्षेत्रमा काम गर्दै आएको छ।