‘एनआरएनमा पूर्वअध्यक्षहरुको अधिकार कटौती गरियोस्’ !

‘एनआरएनमा पूर्वअध्यक्षहरुको अधिकार कटौती गरियोस्’ !



काठमाडौं ।

गैरआवासीय नेपाली संघको दशौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । शनिबार सुरु भएको सम्मेलन आज समापन गरिने तालिका छ । सम्मेलनको उद्घाटन राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको सहआयोजकका रुपमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ थिए । नेपालमा परराष्ट्र मन्त्रालय अन्तर्गत दर्ता भएको गैरआवासीय नेपाली संघको आधिकारिक सम्मेलनमा बोल्दै पूर्वअध्यक्षहरुले आत्माआलोचनासहित आगामी दिनमा आफुहरुको भूमिका सीमित बनाइयोस् भनेर माग गरेका छन् । बोल्ने क्रममा पूर्वअध्यक्ष एवं संस्थापक उपेन्द्र महतोले राजनीतिक दलहरुलाई एनआरएनमा कुनै हस्तक्षेप नगर्न आग्रह गरे ।

उनले भने, “भोलिका दिनमा यो सबै तपाईंहरुकै हो । तर, अहिले हामी कम्तिमा देशलाई सम्बृद्ध पार्ने योजना अभियानमा लागिरहँदा यसमा कुनै चलखेल नगरिदिनोस् ।”

उनले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई पनि घर परिवार, काम सबै छोडेर एनआरएनमा नलाग्दा सुझाव दिँदै आफ्नो घर परिवार र व्यवसायलाई दिएर बाँकी रहेको समय एनआरएनलाई दिन पनि अनुरोध गरेका थिए ।

उक्त क्रममा पूर्वअध्यक्ष जीवा लामिछानेले पूर्वअध्यक्षहरुकै कारण एनआरएनमा विषम परिस्थिति आएकोले उनीहरुको अधिकारलाई अहिलेको विश्व सम्मेलनबाट नै हटाउने प्रस्ताव पारित गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका थिए । निकै भावुक देखिएका उनले आगामी दिनमा गैरआवासीय नेपाली अभियानलाई विगतको जस्तै बनाउन नेपाल सरकारको तर्फबाट संविधानमै समावेश गरिसकिएको गैरआवासीय नेपाली नागरिकताको विषयलाई कार्यान्वयनमा ल्याउन अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष भवन भट्टले एक करोड रुपैयाँको पुरस्कार घोषणा गरे । हरेक दुई वर्षमा प्रदान गरिने यो पुरस्कार नेपालको सेवामा लाग्ने जो कसैलाई प्रदान गर्न सकिने र एनआरएन भवन फाउन्डेसनले संयुक्त रुपमा यसको निर्णय गर्ने उनले जानकारी गराए । पहिलो पटक महावीर पुनको आविष्कार केन्द्रलाई एक करोड दिने घोषणा भएको छ भने अर्को पटकदेखि कार्यविधि बनाएर यसलाई प्रदान गरिनेछ ।

कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरुको योगदानको प्रशंसा गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले गैरआवासीय नेपालीलाई सांस्कृतिक पर्यटन दूत भएर नेपाल चिनाउन आग्रह गर्नुभयो । नेपाल पर्यटनको प्रचुर संभावना रहेको भन्दै विदेशमा बस्ने नेपालीको प्रचारबाट नै पर्यटनबाट लाभ लिन सकिने उहाँको धारणा थियो ।

विदेशमा रहेका नेपालीले कमाएको ज्ञान, सीप र पुँजी नेपालमा प्रयोग गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई थियो । मातृभूमिको सेवामा सदैव लागिरहन उहाँले अनुरोध गर्नुभयो ।

विश्व सम्मेलनको दोश्रो दिन आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा समापन गर्ने योजना छ ।
यसअघि नै निर्वाचनको आह्वान भएको त्यसमा दुईजना अध्यक्ष पदमा आकांक्षी रहेको अवस्थामा सहमति सहकार्य र एकताको अधिवेशनमा परिणत गर्ने योजना अनुसार तीन अध्यक्ष रहनेगरी विधान संशोधन प्रस्ताव प्रतिनिधि समक्ष लैजाने तयारी छ ।