डार्विनमा नेपाली महिलामाथि चक्कु प्रहारको प्रयास, यसरी जोगाइन ज्यान

डार्विनमा नेपाली महिलामाथि चक्कु प्रहारको प्रयास, यसरी जोगाइन ज्यान


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको डार्बिनमा एक नेपाली महिलामाथि चक्कु प्रहारको प्रयास भएको छ। लामो समयदेखि डार्विनमा बस्दै आएकी अनु चापागाईँमाथि तीन जना किशोरले चक्कु प्रहारको प्रयास गरेका हुन्। अचानक कारको पछाडिको ढोकाबाट भित्र पसेका एक किशोरले आफ्नो घाँटीमा छुरा लगाएर कारको चाबी मागेको उनले बताइन्। 

तीन जना किशोरले उनलाई घेरा हाल्दै चक्कु देखाउँदै कारको चाबी मागेको उनले सुनाइन्। स्टाट भएको कारबाट निस्केर उनले ती किशोरलाई कारको चाबी र मोबाइल कारमा नै छ भनेर भाग्न सफल भएको बताएकी छन्। हिम्मत र सुझबुझका साथ उक्त परिस्थितिको सामना गरेकाले आक्रमणबाट बाँच्न सफल भएको उनले बताइन्। ‘त्यो परिस्थितिको कसरी सामना गरे भन्नेबारे अहिले सोच्दा पनि डर लाग्छ’, उनले भनिन्।

घटनाबारे केबीसी खबरसँग कुरा गर्दै उनले भनिन्ः चिनजानका भाइले बर्तमनको सामान जुटाइदिन केही दिन अगाडी आग्रह गरेका थिए। मैले बुधवार बिहान डिउटी सकेर साँझ गार्डेनमा गएर सामान जुटाउन जाउँला भनेकी थिए। सोही योजना अनुसार म र ती भाइहरू सामान जुटाउन निस्केका थिइएउ। बर्तमनको सबै सामान जुटाइसकेपछि गणेशलाई चढाउने दुबो अलि कम हुन्छ की भनेर गाडी रोकेर सबै जना दुबो टिप्न गएउ। दुबो टिपेर भाइहरूलाई दिएर म आफ्नो कार भएको ठाउँ आए। म कार भित्र पस्ने बित्तिकै एक्कासि एक जना कारको पछाडिको ढोकाबाट भित्र पसेर मसँग चक्कु छ कारको चाबी दे भन्दै करायो। त्यसपछि मैले ठिक छ म कार दिन्छु भने। मलाई ती किशोर घेरा हालेको ती भाइहरुले पनि देखेछन्। उनीहरूले दिदीमाथि आक्रमण भयो भनेर कारबाट ओर्लेर आए। एक जनाले मेरो कारमा ढुंगाले हान्यो। म कारलाई स्टाट नै राखेर मोबाइल र चाबी लिएर बाहिर निस्के। हातमा चक्कु भएको केटा ती भाइहरू तिर गयो। म कारबाट निस्केपछि दुई किशोर कार भित्र पसे। भाइहरू तिर गएको केटा पनि बिचबाट फर्केर म तिर आयो र मलाई मोबाल माग्यो। मेले ती चक्कु बोकेको किशोरलाई भनेः भाइ गाडी मैले दिइ सकेको छु जाउ। त्यती भनेपछि त्यो केटो तीन राउण्ड मेरो वरिपरि घुम्यो र अन्ततमा मलाई छोडेर गाडी तिर गयो। त्यो किशोरले मलाई छोडेर गएपछि म भागे। 

विगत १५ वर्षदेखि श्रीमान एक छोरा एक छोरीसँग डार्विन बस्दै आएकी अनुले यस्तो डरलाग्दो घटनाको कहिलै सामना गर्न नपरेको बताइन्। उक्त घटनापछि आफू असुरक्षित महसुस भएको बताएकी छन्। घटना भएको दिनदेखि काममा पनि जान सकेको छैन्। भौतिक आक्रमणबाट बाँच्न सफल भएपनि मानसिक रुपमा अझे डर लागेको छ। उनले भनिन्। उनले डार्बिनमा रहेका सबै आप्रवासी समुदायका संघ संस्था मिले यो विषयलाई कडा रुपमा उठाउन पर्ने बताएकी छन्। राज्य स्तरका बहुसाँस्कृतिक मन्त्री आएर यो घटनाका बारेमा गम्भीर चासो व्यक्त गरेको बताइन्। डार्बिनको प्रहरीको प्रमुखले पनि थप प्रहरी परिचालन गरेर यस्ता घटना न्यूनीकरण गर्ने आश्वासन दिएको बताएकी छन्। 

अरू आप्रवासी यस्ता घटनाको सिकार नबनुन् भनेर नै आफूले यो घटनालाई बाहिर ल्याएको बताएकी छन्। डार्बिनमा पछिल्लो समय आप्रवासीमाथि आक्रमण हुने क्रम बढ्दै गएकाले यस विषयमा सरकार गम्भीर हुनु पर्ने माग गरेकी छन्। घटनापछि डार्बिनको नेपाली समुदायका संघ–संस्था आएर भेटेको उनले बताइन्। भेटका क्रममा समुदायका अगुवाहरूले यस विषयमा सरोकार निकायसँग गम्भीर रूपमा छलफल गर्ने बताएको उनले बताइन्। 

अनु डार्विन अस्पतालमा पीसीएको रूपमा कार्यरत छन्। उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्व उपाध्यक्ष विष्णु चापागाईँ की श्रीमती हुन्। 

अनु चापागाईँमाथि आक्रमणको प्रयास भएको भिडियो पनि सार्वजनिक भएको छ। उक्त भिडियो अनुमाथि आक्रमण भएको ठाउँको अपार्टमेन्टमा बस्ने मान्छेले खिचेका थिए।  

अनु चापागाईँको कारलाई ती किशोरले लिन नसकेपछि नजिकै रहेको ट्याक्सी चालकको टाउकोमा हम्बर प्राहार गरी कार लिएर भागेको डार्बिन प्रहरीले बताएको छ। तीन जना किशोर मध्य दुई जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ भने १२ वर्षभन्दा कम उम्मेरका बालकलाई आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ। राज्यको कानुन अनुसार १२ वर्षभन्दा मुनिका बालबालिकालाई फौजदारी अभियोग नलगाउने व्यवस्था गरिएको छ।