एनआरएन क्वीन्सल्याण्डले गर्यो अभिभावक वनभोजको आयोजना

एनआरएन क्वीन्सल्याण्डले गर्यो अभिभावक वनभोजको आयोजना


ब्रिजवेन अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्वीन्सल्याण्डले अभिभावक वनभोजको आयोजना गर्ने भएको छ। नेपालबाट छोरा–बुहारी, छोरी–ज्वाइँ र आफन्तलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकलाई लक्षित गरी अप्रैल १३ तारिख एनआरएन क्वीन्सल्याण्डले वनभोजको आयोजना गरेको हो। 

क्वीन्सल्याण्डको रमरिणय क्षेत्र समरसेट ड्याममा हुने उक्त वनभोज कार्यक्रममा सहभागी हुने अभिभावकहरूलाई बसको व्यवस्था गरिएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा क्वीन्सल्याण्डका संयोजक शम्भु गाइसीले जानकारी दिए। वनभोजमा सहभागी हुने अभिभावकहरूलाई नर्थ साइड र साउथ साइडबाटबाट पिकअप गरिने उनले बताए। 

साउथको लागि सन्तोष पोड्याल, टिकाराम शर्मा, एनआरएन कीन्सल्याण्डका सदस्य मार्क अर्याल तोकिएको छ भने नर्थको लागि एनआरएनए क्वीन्सल्याण्डका सचिव श्याम बस्नेत, अमृत खत्रीलाई सम्पर्क व्यक्ति तोकेको उनको भनाइ छ। बिहान ७ बजे अगाडी नै बस लाग्ने ठाउँमा आउनको लागि आफन्तहरूले अभिभावकलाई सहयोग गरिदिन समेत उनले आग्रह गरेका छन्। 

वनभोजमा अभिभावकसँगै सहभागी हुने परिवारका एक जना सदस्यलाई ५० र कपल परिवार गएमा एक सय अष्ट्रेलियन डलरको शुल्क निर्धारण गरेको उनले बताए। नेपालबाट आएका अभिभावकलाई भने निःशुल्क गरिएको संयोजक गाइसीले बताए। ‘पिकनिकमा सहभागी अभिभावको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौँ’,उनले भने। 

उनले वनभोजमा खानपिन, परिचयात्मक कार्यक्रम र रमाइलोका लागि नाचगानको कार्यक्रम हुने बताए। ‘अभिभावक बनभोजमा तीन सय बढीको सहभागीता हुने अनुमान गरेका छौँ’, उनले भने।

अभिभावकलाई विदेशमा पनि स्वदेशीपन र नेपाली मनले रम्न र रमाउन र एक–आपसमा चिनजान बढाउने उद्देश्यले अभिभावक वनभोजको आयोजना गर्न लागिएको संयोजक गाइसीले बताए।