पिएसजीमाथि बार्सिलोनाको शानदार जित

पिएसजीमाथि बार्सिलोनाको शानदार जित


काठमाडौं ।

युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनालाई जिताउन राफिन्हाले २ गोल गर्दा आन्द्रेज क्रिस्टियनसेनले एक गोल थपेका थिए। पीएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले एक एक गोल फर्काए।

३७ औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो। उसका लागि राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको पीएसजीले दोस्रो हाफको सुरुमै २ गोल थप्दै अग्रता लिएको थियो। ४८ औं मिनेटमा ओस्मन डेम्बेलेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए।

५० औं मिनेटमा फावियन रुइजको पासमा भिटिन्हाले गोल गरेपछि घरेलु मैदानमा पीएसजीले २–१ को अग्रता लिएको थियो। त्यो अग्रता १२ मिनेटमात्रै टिक्यो। ६२ औं मिनेटमा बार्सिलोनाका लागि राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए। ७७ औं मिनेटमा क्रिस्टियनसेनले गुन्डोगनको पासमा गोल गरेपछि बार्सिलोनाले अन्ततः ३–२ को जित निकाल्न सफल भयो। अब दोस्रो लेगको खेल १७ अप्रिलमा बार्सिलोनाको मैदानमा हुने छ।

च्याम्पियन्स लिगकै क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले बोरुसिया डर्टमुन्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ।