नायक पल शाहलाई थुनामै राखेर मुद्दाको सुनुवाइ हुने, जबरजस्ती करणी प्रमाणित हुने आधार भेटिए

नायक पल शाहलाई थुनामै राखेर मुद्दाको सुनुवाइ हुने, जबरजस्ती करणी प्रमाणित हुने आधार भेटिए


काठमाडौं, १० चैत । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहले नाबालिगलाई जबरजस्ति करणी गरेको प्रारम्भिक निस्कर्षसहित उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले जबरजस्ति करणी ठहर हुने विभिन्न आधारहरु प्रस्तुत गर्दै पललाई धरौटीमा छाड्न इन्कार गरेको हो ।
राति करिब १२ बजे पिडितलाई म्यासेज गरी वियर लिएर पिडितको कोठामा प्रवेश गरेको पलको स्वीकारोक्तिलाई अदालतले पहिलो आधारका रुपमा प्रस्तुत गरेको छ । अदालतले भनेको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्य प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राती निजले पिडितलाई जबरजस्ति करणी गरेको तथ्यसँग भिड्न आएको देखियो ।’
अदालतले देखाएको दोस्रो आधार हो, अडियो । पलले अडियोमा ‘ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेग्नेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ’ छलफलको क्रममा बोलेको कुरालाई अदालतले बलियो प्रमाणका रुपमा स्वीकार गरेको छ । उक्त अडियोको विश्लेषण गर्दा प्रतिवादीले पिडितलाई करणी गरेको तथ्यलाई थप पुष्ट्याई हुन आएको देखिन्छ,’ आदेशमा भनिएको छ । पीडित नाबालिग हुन् भन्ने पूर्ण जानकारी प्रतिवादीलाई रहेको अदालतले स्मरण गरेको छ ।
‘प्रतिवादीले आफूलाई माया प्रेम गर्ने तथा विवाहको झूटो आश्वासन दिई पहिले पनि पटक–पटक जबरजस्ति करणी गरेको भन्ने कुरा पिडितले मौकामा व्यक्त गरेको घटना विवरण कागजबाट देखिन्छ,’ अदालतले भनेको छ । घटना भएको १० महिनापछि जाहेरी परेकाले त्यस्तो जाहेरी ग्रहण गर्न मिल्दैन भन्ने प्रतिवादीतर्फका कानूनविदहरुले उठाएको विषयलाई अदालतले अस्वीकार गरेको छ ।
आफू एउटै फिल्डमा लागेकाले कानूनी उपचारमा जाँदा आफ्नो करिअरमा असर पर्ने हो कि भन्ने विषयमा विचार विमर्श गर्दागर्दै पीडितको तर्फबाट जाहेरी दिन ढिलाई भएको वादी तथा जाहेरवाला पक्षका कानूनविदहरुको तर्कसँग असहमत हुनुपर्ने अवस्था नदेखिएको अदालतको भनाइ छ ।
‘आफू कहिले कसरी न्यायिक उपचारमा जाने हो र त्यसरी जाँदा दिर्घकालिन रुपमा केकस्तो परिस्थिति वा असहजता आउन सक्छ भन्ने विषयमा पीडित तथा निजका संरक्षणकले गम्भीर ढंगले सोच्न र विचार विमर्श गर्न पाउनुपर्ने कुरालाई नकार्न सकिँदैन,’ आदेशमा भनिएको छ ।
अदालतले विभिन्न प्रमाणहरुका आधारमा प्रतिवादीले ललाई फकाई विवाह गर्छु भनि प्रलोभन देखाई जबरजस्ति करणी गरेको देखिन आएको उल्लेख गरेको छ पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादीलाई थुनामा राखी पुर्पक्ष गर्न अदालतको आदेश छ ।