रेशम चौधरीले सुदूर सरकार ढल्यो भने चार जनाको हत्या हुन्छ भनेका छन् : केन्द्रीय सदस्य विश्वकर्मा

रेशम चौधरीले सुदूर सरकार ढल्यो भने चार जनाको हत्या हुन्छ भनेका छन् : केन्द्रीय सदस्य विश्वकर्मा


काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चि प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए।

‘यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरु चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन,’– उनले भने।

उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो। आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनले बताए। कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए। उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनको भनाई छ।

रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर नगरपालिका– ४ का वडा अध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको उनको दाबी छ। रेशमले धम्की दिएको भोलि पल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्यरूपमा नलिएको उनले बताए।

आफूमाथिभौतिक आक्रामण भएको सुनाउँदै उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले मिटिङ बोलाउनु भएको थियो। हामी मिटिङमा सहभागी हुन अनामनगर स्थित् पार्टी कार्यालयमा पुग्यौं। संस्थापक केन्द्रीय सदस्य भनिएको थियो। २१ जनालाई बोलाईएको थियो। महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ। यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय सदस्यको बैठक थियो। माननीय अध्यक्ष आउन ढिला भयो। उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रुपको ढोकाको मात्रै चुक्कुल लगाइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर म माथि भौतिक आक्रमण भयो।’

कसैले कुटपिट गरेको खण्डमा, केही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेशम चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ। उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण पनि गराए ।

आफूहरुले रेशमलाल चौधरीलाई संरक्षक माने पनि कानुनले उनलाई पार्टी सदस्य बन्न समेत रोक लगाएको उनको भनाई छ। तर, रेशमको भनाइभने ‘मेरो निर्णय मान्दैनौं भने पार्टीमा बस्न पाइँदैन’भन्ने रहेको उनले बताए।

आफू हरुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए। सरकार टिकाउनकै लागिआफूहरुलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ। पार्टी जन्माउनका लागि रेशमको ठूलो भूमिका रहेको स्मरण गराउँदै उनले रेशमले जे भन्यो त्यो मान्नभने आफूहरु बाध्य नरहेको स्पष्ट पारे।