पारस, सावित्रा र जगत दशककै सर्वोत्कृष्ट

पारस, सावित्रा र जगत दशककै सर्वोत्कृष्ट


काठमाडौं, ८ चैत । क्रिकेटर पारस खड्का, फुटबलर सावित्रा भण्डारी र क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गरेको १८ औं एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना भएको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड चुनिइन् ।
यस्तै प्रशिक्षतर्फ क्रिकेटकै जगत टमाटा कोच अफ दि डिकेडको अवार्ड जिते ।
गत वर्ष कोरोना महामारी कारण अन्तर्राष्ट्रिय खेलकुद गतिविधि कम भएका कारण यस पटक अवार्डको शैलीमा थोरै परिवर्तन गरिएको एनएसजेफले जनाएको छ । यो पटक अवार्ड दिँदा पछिल्लो एक दशक अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शन, उपलब्धी र पछिल्लो दशकमा अवार्डमा प्राप्त सफलताको आधारमा दशकको उत्कृष्ट खेलाडी र प्रशिक्षक चुनिएको हो ।
पछिल्लो दशक नेपाली क्रिकेट टिमले दुई ठूला सफलता हात पारेको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दा पारस कप्तान थिए ।
यस्तै सन् २०१८ मा नेपालले पहिलो पटक ओडीआई मान्यता पाउँदा पारस कप्तान र पुबुदु दसानाइके प्रशिक्षक थिए । त्यसबाहेक नेपाली क्रिकेटले प्राप्त गरेको हरेक सफलतामा पारस समावेश थिए । यस्तै महिला फुटबलले पछिल्लो दशक हात पारेको सफलतामा सावित्रा जोडिएकी थिइन् । उनले दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता हुँदा एक पटक दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै भारतमा दुई पटक महिला लिगको उपाधिसमेत जितिन् । सावित्राले नेपालका लागि सर्वाधिक ३८ गोल गरेकी छिन् ।
यस्तै सबैभन्दा चर्चित खेलाडी टेबलटेनिसकी एलिना महर्जन बनिन् । उनले पिपुल च्वाइस अवार्डको उपाधि जित्ने क्रममा मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो सुब्बा क्रिकेटर कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन् ।
इसेवा भोटिङ, खेल पत्रकार र मुख्य प्रशिक्षकले गरेको भोटका आधारमा सर्वाधिक भोट ल्याउँदै एलिना विजेता बनिन् ।
यसैगरी २०७७ सालमा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्ण पदक जितेकी पुष्पा भण्डारीले स्पेशल अवार्ड अन्तर्गत परफरमर अफ द इयरको अवार्ड जितिन् । खेल चिकित्सक डा. अजय रानाले स्पेशल अवार्ड जिते ।
गत वर्ष ङरेलु मैदानमा भएको थ्री नेशन्स कपको उपाधि जितेको पुरुष फुटबल टिमले टिम अफ द इयरको अवार्ड पायो ।
दक्षिण एसियाली खेलकुदका परिकल्पनाकार तथा नेपालमा खेलकुद पूर्वाधार निर्माणका सुरुवातकर्ता स्व. शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।
पारा खेलाडी सरिता कुलुङले पारा एथलेट सम्मान प्राप्त गरिन् । एआइपीएस एसियाका अध्यक्ष कुवेतका सातेम अल सेहलीले एसियन स्पोर्ट्स जर्नालिस्टको अवार्ड जिते ।