संवाद यात्राले उत्साह जगायो, भरोसा बढायो : गगन थापा

संवाद यात्राले उत्साह जगायो, भरोसा बढायो : गगन थापा


काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा सकेर काठमाडौं फर्किएका छन् । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका थिए ।

यात्राको चरणमा शनिबार दाङ र बाँकेमा हुलाकी राजमार्ग आसपासका समुदायसँग संवाद गरी काठमाडौं फर्केको महामन्त्री थापाले जानकारी दिए ।‘यसपटक खुला छलफल, उद्योग व्यवसाय,शिक्षा, स्वास्थ्य, कृषिलगायतको विषयमा सरोकारवालासँग अन्तरक्रिया, अवलोकनका साथै पार्टीको तल्लो तहमा क्रियाशील सदस्य,नेतृत्व चयन र पार्टी व्यवस्थापन तथा लिनुपर्ने नीतिका बारेमा सुझाव लिएर आएको छु,’ थापाले भने ।

थारु समुदासँग छलफल, सिक्टा सिंचाइ आयोजनाको अवलोकन र अन्तरक्रिया र जनप्रतिनिधि र जनसमुदायसँग संवादमा धेरै महत्त्वपूर्ण विषय आएको उनले उल्लेख गरेका छन् । यात्राका क्रममा महामन्त्री थापाले केही कानुन, केही बजेट कार्यान्वयनमा अड्किएका विषयमा पार्टीले पहलकदमी लिनुपर्ने पनि उल्लेख गरे ।

‘संवाद यात्राबाट थप भरोसासहित उत्साह बोकेर आएको छु । जनचासो र सरोकारका विषयका बारेमा अब तत् तत् निकायमा निरन्तर झक्झकाउने छु। केही समयपछि यात्रालाई पुनः निरन्तरता दिनेछु,’ महामन्त्री थापाले भने । चैत्र १६ गतेदेखि थापा नेतृत्वको टोली संवाद यात्रामा थियो ।