आधा धर्तीका मालिक महिलाको यस्तो प्रगतिमा सन्तुष्ट हुन सकिदैन : प्रधानमन्त्री दाहाल

आधा धर्तीका मालिक महिलाको यस्तो प्रगतिमा सन्तुष्ट हुन सकिदैन : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उदघाटन गर्दै उनले महिला सशक्तिकरणको लागि आर्थिक पहुँच दरिलो बनाउनुपर्ने भन्दै त्यसको लागि सबैको हातेमालो आवश्यक भएको बताए।

उनले भने, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न। त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’

सशक्तिकरण आजको दुनियाँमा शक्तिसँग र शक्ति अर्थसँग जोडिएका भन्दै आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन नसक्ने बताए। उनले भने, ‘सशक्तिकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिक रूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’

उनले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लाने विश्वास पनि व्यक्त गरेका छन्।

उनले भने, ‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ। सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवद्र्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ।’