महाजात्रा हेरेपछि केपी ओलीले भने : ‘फिल्मले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’

महाजात्रा हेरेपछि केपी ओलीले भने : ‘फिल्मले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमति राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेरेका छन्। सुन्धारास्थित सिने डी सेफमा फिल्म हेरेपछि उनले फिल्मलाई १० नम्बर मा ९।५ नम्बर दिए।

उनले फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोकेको बताए। ‘फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन्।

यसले बाटो बिराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भने,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ। फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ। त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ।’

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले फिल्म हेरेका थिए। फिल्म अवधिभर मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताईन्।

‘फिल्मको सुरुआत देखि नै म हाँसी रहे। यसले भ्रष्टचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रुपमा राजनीति गर्नुपर्छ भन्ने संदेश दिएको छ। मैले यो शृङ्खलाका सबै फिल्म हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’, नेत्री ओलीले भनिन्।

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए।

फिल्मलाई अध्यक्ष ओली अगाडि पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हेरिसकेका छन्। षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ श्रृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ।

निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ।

गत चैत ९ गतेबाट नेपालसँगै विश्वभर एकसाथ रिलिज फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ। फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। फिल्म म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन्।