एमालेमा बनायो उम्मेदवार छान्ने मापदण्ड

एमालेमा बनायो उम्मेदवार छान्ने मापदण्ड


काठमाडौं, ७ चैत । नेकपा एमालेले स्थानीय तह चुनावमा उम्मेदवार चयनमा मापदण्ड बनाएको छ । आज सोमवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
गुरुङका अनुसार स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यमा वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ ।
प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताउनुभयो । उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ ।
विगतको कामको मूल्याङ्कन, उनीहरूको कार्यक्षमता, विकास र सुशासनप्रति उनीहरूको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको उहाँको भनाइ छ । त्यसैगरी लोकप्रियता, चुनावमा जित्ने निश्चिततालाई पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा पु¥याएको योगदान, पार्टीप्रतिको उसको निष्ठा पनि उम्मेदवार चयनका आधारहरू हुनेछन् ।
यसैगरी एमालेले आउँदो वैशाख ९ गते स्थानीय तह चुनावको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रचार विभाग प्रमुख गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहले आ–आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
यस्तै पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि आवश्यक विभागहरू गठन गर्ने अनुमति आवश्यकताअनुसार प्रदेश र जिल्ला कमिटीहरूलाई दिने निर्णय पनि बैठकले गरेको छ ।