एनआरएनएको चुनाव तत्काल नगर्न अन्तरिम आदेश

एनआरएनएको चुनाव तत्काल नगर्न अन्तरिम आदेश


काठमाडौं, ७ चैत । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको चुनावसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज सोमवार नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै यो आदेश गरेको हो ।
अदालतले यही चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ । यो आदेशसँगै सङ्घको यही चैत १० र ११ गते गर्ने भनिएको चुनाव अदालतको अर्को आदेश नआएसम्मका लागि स्थगित भएको छ ।
सङ्घको संस्थापन पक्षले एकपक्षीयरूफमा चुनाव गराउन लागको भन्दै चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यो निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि यो आदेश भएको हो ।