यूएईसँग नेपालको लज्जास्पद पराजय

यूएईसँग नेपालको लज्जास्पद पराजय


काठमाडौं, ७ चैत । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ९९ रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय ३ रनमै समेटिएसँगै नेपालले लज्जास्पद हार व्यहोरेको हो । जवाफी ब्याटिङ गर्ने क्रममा नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । यसबाहेक, आरिफ शेख र सोमपाल कामीले समान १५ र विनोद भण्डारीले १२ रन बनाउनु बाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाल ओपनरद्वय पवन सर्राफ र कुशल भुर्तेल क्रमशः दुई र पाँच रनमा पभेलियन फर्किँदा दीपेन्द्रसिंह ऐरी शून्यमा पवेलियन फर्किए । यस्तै, रोहितकुमार पौडेल नौ, करण केसी चार र विक्रम सोब एक रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने शून्य रनमा अविजित रहे । युएईका जुनैद सिद्दिकीले सर्वाधिक तीन विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै २२ रन खर्चिए । यस्तै, कासिफ दाउद र अहमेद राजाले समान दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रनको योगफल खडा गरेको थियो । युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसबाहेक, मुहम्मद वसिमले ३३, चिराग सुरीले २६, भ्रित्या अरविन्दले २४ र अलिसन सराफुले २१ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र करण केसीले समान दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक÷एक विकेट लिए ।
शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । त्यसअघि नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा १८ खेलबाट २२ अंक जोडेको युएई तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ११ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।