नेपालमा अस्पताल बनाउन सहयोग उठाएर एडिलेडमा मनाइयो नारी दिवस

नेपालमा अस्पताल बनाउन सहयोग उठाएर एडिलेडमा मनाइयो नारी दिवस


एडिलेड । अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाको आयोजनामा सहयोगका लागि पदयात्रा सम्पन्न भएको छ । एडिलेडको मोरियल्टा कन्जरभेसन पार्कबाट पदयात्रा शुरु गरिएको थियो ।

पदयात्रामा सहभागीहरुलाई अष्ट्रेलियाका स्त्री रोग विशेषज्ञ शल्यचिकित्सक डा. रे हटसनद्वारा लिखित `हार्टब्रेक इन द हिमालयज’ पुस्तकको बिक्री र विभिन्न स्पोन्सरहरुबाट गरि अष्ट्रेलियन डलर ४००० भन्दा बढि संकलन गरिएको एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक अनिता लम्सालले बताउनुभयो । सो रकम अस्ट्रेलियन्स फर वुमेन्स हेल्थका संस्थापक डा रे ले ग्रामीण नेपालमा अस्पताल निर्माण गर्ने योजना अन्तर्गत दोलखामा निर्माण हुने अस्पताल निर्माण कोषमा हस्तान्तरण गरिनेभएको छ ।

यस वर्ष एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाले अस्ट्रेलियन्स फर वुमेन्स हेल्थ एण्ड रोटरी पासपोर्ट मेलबर्नसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै दोलखा जिल्लाको चरिकोटमा महिला तथा बालबालिका अस्पतालको सहयोगार्थ कोष सङ्कलन कार्यक्रमहरू आयोजना गर्दै आएको छ । अष्ट्रेलियाका स्त्री रोग विशेषज्ञ शल्यचिकित्सक डा. रे ले एक दशकभन्दा बढी समयदेखि नेपाल जस्ता विकासोन्मुख देशका ग्रामीण महिलाहरूको पीडाबारे चेतना जगाउँदै आउनुभएको छ । पदयात्राको समापनमा ग्रामीण नेपालका महिलाहरुको स्वास्थ्य अवस्था बारेमा डा रे द्वारा लिखित पुस्तक ‘हार्टब्रेक इन द हिमालयज’ का बारेमा एनआरएनए अभियन्ताहरुले प्रकाश पार्नुभएको थियो ।

यसै क्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले पदयात्रामा उपस्थित तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै डा रे ले दोलखामा निर्माण गर्न लागेको अस्पताल र उहाको अभियानमा सबैलाई साथ दिन अनुरोध गर्नु भएको थियो । एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले अन्तराष्ट्रिय नारी दिवसको महत्व दर्शाउदै विगत बर्षहरुका नारी दिवस भन्दा फरक ढंगले यस बर्ष अस्पताल निर्माण जस्तो पुन्यको काममा सहयोग गरेर मनाउने उद्देश्यले अष्ट्रेलिया भरि कार्यक्रमहरु गरिएको बताउदै डा रे को पुस्तक माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक लम्सालले गत ८ मार्चमा सिड्नीमा आयोजित कार्यक्रममा डाक्टर रे ले प्रस्तुत गर्नुभएको विचार र उहाको प्रयास बारेमा जानकारी गराउनुभएको थियो ।