अष्ट्रेलियाको हुन्डी कारोबारी ठग केसीलाई ४६ महिना जेल सजाय !

अष्ट्रेलियाको हुन्डी कारोबारी ठग केसीलाई ४६ महिना जेल सजाय !


मेलबर्न, अष्ट्रेलिया ।

हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने मेलबर्न निवासी नेपाली भरत केसीलाई ४६ महिना जेल सजाय भएको छ । आज भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईमा निजलाई ४६ महिना जेल सजाय तोकिएको हो । निजले डेढ वर्ष हिरासतमा बिताइसकेका कारण थप सजाय काट्नका लागि प्रहरी हिरासतबाट जेल चलान गरिएको छ ।

फैसला सुनाउँदै काउन्टी कोर्टका जजले निजको अपराधले कैयौं परिवारहरु प्रभावित भएको भन्दै निजले पटक पटक यो अपराध दोहोराएका कारण समाजमा निजको उपस्थिति थप खतरापूर्ण हुने बताएको सुनवाईमा सहभागी एक पीडितले केविसीखबरलाई जानकारी दिए ।

ठगिएको रकम फिर्तीका लागि पीडितहरुले अबको ६ महिनाभित्र क्षतिपूर्तिसहित दावी गर्न सक्नेछन् । अदालतमा केसीको तर्फबाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताएपनि न्यायाधीशले त्यस कुरालाई खासै महत्व दिएनन् । अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय भएको अवस्थामा निज व्यक्तिलाई सजाय पूरा भएपछि डिपोर्ट गर्ने नियम छ । यसका लागि अध्यागमनलाई समेत सूचित गरिने भएको छ ।

निज केसीको ठगीबाट पीडित बनेका अधिकांश विद्यार्थीहरु छन् । तिमध्ये कतिपयको ३० हजार डलरभन्दा बढी निजले ठगी गरेको पाइएको थियो । करिब दुई वर्ष अघि भिक्टोरियाका नेपाली समूदायका सदस्यहरु र सञ्चारकर्मीको रोहवरमा निजले रकम फिर्ता गर्ने र अबदेखि यस्तो कार्यमा संलग्न नहुने लिखित सहमति गरेपनि निजले ठगी धन्दा कायमै राखेको पाइएपछि यो मुद्दा प्रहरीको पुगेको थियो । प्रहरीले अनुसन्धानका क्रममा प्रमाणको रुपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई पनि आफ्नो दायरामा लिएको थियो ।