पर्थमा निर्माण हुने नेपाली मन्दिर र सामूदायिक केन्द्रले तीव्रता पाउँदै, एक हप्तामै करिब ४५ हजार संकलन

पर्थमा निर्माण हुने नेपाली मन्दिर र सामूदायिक केन्द्रले तीव्रता पाउँदै, एक हप्तामै करिब ४५ हजार संकलन


पर्थ, अष्ट्रेलिया ।

वेष्टर्न अष्ट्रेलियाको केन्द्र पर्थमा नेपाली पशुपतिनाथ, बौद्धनाथसहितको सामूदायिक केन्द्र निर्माण गर्ने अभियानले तीव्रता पाएको छ। नेपाली मन्दिर र सामूदायिक केन्द्र निर्माणका लागि अभियान थालिएको एक हप्तामा करिब ४५ हजार अष्ट्रेलियन डलर संकलन भएको कोषाध्यक्ष देव अर्यालले केबीसी खबरलाई जानकारी दए। 

आर्थिक संकलन अभियानलाई तीव्रता पारेको एक हप्तामा ५० जना आजीवन सदस्य थपिएको र २० जना सदस्यबाट रकम आइसकेको र बाँकी ३० जना सदस्य पैसा पठाउने प्रक्रियामा रहेको आर्थिक संकलन अभियानका संयोजक किष्णमान श्रेष्ठले बताएका छन्। नेपाली मन्दिर र सामूदायिक केन्द्रका लागि पर्थमा रहेका नेपालीवासी धेरै नै उत्साहित भएको र आगामी हप्तामा सदस्यको संख्या उल्लेख्य रुपमा बढ्ने संयोजक श्रेष्ठको भनाइ छ। 

वेष्टर्न अष्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीवासीहरुलाई आफ्नै सामूदायिक केन्द्र, मन्दिर र गुम्बा बनाउन थालेको यस महान् अभियानमा जोडिन कार्यवाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठले आग्रह गरेको छन्। उनले पर्थका विभिन्न ठाउँमा रकम संकलनका लागि कार्यक्रम नै लिएर आउने पनि जानकारी दिए। उनले पर्थका विभिन्न ठाउँमा अर्थसंकलन गर्ने उद्देश्यका साथ सामूदायिक छलफल सुरु गरिसकेको बताएका छन्। 

पर्थमा नेपाली मन्दिर र सामूदायिक केन्द्र निर्माणका लागि दश वर्ष अगाडी पशुपतिनाथ बौद्धनाथ अफ वेष्टर्न अष्ट्रेलिया नामक संस्था दर्ता गरेर यो अभियान थालिएको थियो। हालसम्म करिब आठ लाख अष्ट्रेलियन डलर सहयोग समेत जुटाएको छ भने संस्थामा २ सय ७० जना आजीवन सदस्यहरु समेटिएको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए। 

समितिले पर्थ सिविडीबाट ३३ किलोमिटरको दूरीमा १ दशमलब ४ हेक्टरमा फैलिएको जग्गा खरिदका लागि बैना दिइसकेको छ। हालसालै उक्त जग्गामा दुई घर र एउटा ठूलो सभा हल बनाउन सकिने गरी आर्थिक अभियानलाई तीव्रता पारेको छ।