निर्वाचन आयोगलाई एमाले अध्यक्ष ओलीको प्रश्न–उम्मेदवारी दर्ता गर्न किन २ दिन ?

निर्वाचन आयोगलाई एमाले अध्यक्ष ओलीको प्रश्न–उम्मेदवारी दर्ता गर्न किन २ दिन ?


काठमाडौं, ६ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ताका लागि दुई दिन समय छुट्याएकोमा आपत्ति जनाउनुभएको छ ।
इलामको फिक्कलमा आज भएको आमसभामा अध्यक्ष ओलीले यसअघि सधैँ उम्मेदवारी दर्ताका लागि एक दिनको समय दिने निर्वाचन आयोगले यस पटक किन दुई दिन दिएको भनेर प्रश्न गर्नुभयो । पाँच दलीय सत्ता गठबन्धनमा उम्मेदवारको विषयमा कुरा नमिलेमा फेरि भोलिपल्ट पनि उम्मेदवार दिन पाइने व्यवस्था आयोगले गेरेको ओलीको आरोप छ ।
आयोगले मतपत्रमा रुखको रङ्ग हरियो बनाउनका लागि हरियो रङ रोजेको भन्दै ओलीले सूर्य कसरी हरियो हुन्छ भनेर प्रश्न गर्नुभयो । सत्ता गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरिरहेको ओलीले जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले चुनावमा सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो । एमालेलाई दुई तिहाइ बहुमत ल्याउनबाट रोक्न २०५४ सालमा पनि पार्टी विभाजन गराएको भन्दै त्यो बेला एमालेले दुई तिहाइ ल्याउनबाट रोकिए पनि अहिले त्यस्तो नहुने उहाँको भनाइ छ ।