गठबन्धन तोड्नु जनमतलाई धोका दिनु हो : विश्वप्रकाश शर्मा

गठबन्धन तोड्नु जनमतलाई धोका दिनु हो : विश्वप्रकाश शर्मा


काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत मंसिर ४ मा जनतासामु गरेका वचन र प्रतिवद्धतासहित गरेको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताको जनमतमा टेक्दै विश्वासको मत दिन नसकिने बताएका छन्।

बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री शर्माले सरकारले आफ्नो शैली र प्रवृति नभइ कांग्रेस पार्टी संविधानलाई टेकेर अघि बढ्ने बताएका हुन्।

उनले भने, ‘आज विश्वासको मतको सम्बन्धमा प्रमुख विपक्षी दल भएका कारणले शुभकामना राख्छ। मेरो पार्टीको तर्फबाट जानकारी गराउँदै गर्दा गत मंसिर ४ गते जनाताको बीचमा गरिएको वाचा, प्रतिवद्धत तोडेर, गठबन्धनलाई छाडेर जनतालाई धोका दिएपछि अर्को गठबन्धन बनाएर सरकार गठन गर्दैगर्दा मंसिर ४ को जनमतको जगमा विश्वासको मत दिन नसकिने कुरा जानकारी गराउन चाहन्छु।’

महामन्त्री शर्माले सरकारले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने उल्लेख गरे। संविधानको कार्यान्वय, संवैधानिक लोकतन्त्रलाई समृद्ध बनाउने विषयमा कांग्रेस प्रतिपक्षीय भूमिकामा रहने बताए।

उनले भने, ‘यो दशमा केही भएको छैन। केही हुँदैन। यो सतीले सरापेको देश हो भन्ने मनोविज्ञान राखिरहेको कुनै नागरिकले यो देशमै केही गर्न सकिन्छ भन्ने बुझाउन आवश्यक छ।’

उनले ‘प्रचण्ड’लाई ‘धोका पाएकाहरु एक हौँ भनेर नारा लागे कहाँ पुग्नुहोला ?’ भनी प्रश्न गरेका छन्। उनले पहिले धोका पाएको नेकपा (एमाले) र कांग्रेस मिले के होला भन्दै प्रश्न गरेका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्ना सभापति शेरबहादुर देउवाबीच सहमति भए प्रचण्डको प्रधानमन्त्रीको पद नरहने संकेत गरे।