मेरो लक्ष्य सत्ता प्राप्ती होइन् : प्रधानमन्त्री दाहाल

मेरो लक्ष्य सत्ता प्राप्ती होइन् : प्रधानमन्त्री दाहाल


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार, राष्ट्रनिर्माणमा लाग्ने दोस्रो विकल्प रोजेको बताएका छन्।

बिहीबार संसद्मा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफुसँग औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? भन्ने दुई वटा विकल्प रहेकोमा आफुले दोस्रो रोजेको प्रष्ट पारे।

उनले भने,‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैंले दोस्रो विकल्प रोजेँ त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्। अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ।’

उनले आफ्नो लक्ष्य सत्ता नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताए । गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको उनको भनाई छ।

उनले भने, ‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ, गठबन्धनका सबै घटकका तर्फबाट म संकल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ।’

आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटकपटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे।

आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै उनले भने कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ।’