पल शाहलाई थप ५ दिन थुन्न अदालतको अनुमति

पल शाहलाई थप ५ दिन थुन्न अदालतको अनुमति


काठमाडौं, ४ चैत । नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय प्रदान गरेको जानकारी दिए । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो ।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताएको छ ।