भिक्टोरियाका नेपालीको संस्था न्याभ २५ औं वार्षिकोत्सव मनाउँदै !

भिक्टोरियाका नेपालीको संस्था न्याभ २५ औं वार्षिकोत्सव मनाउँदै !


मेलबर्न, अष्ट्रेलिया ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव आगामी अप्रिल ३ तारिख विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटक २५ औं वार्षिकोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न सातवटा टास्कफोर्सहरु गठन गरिएको र तिनले तयारीको काम तिव्ररुपमा अघि बढाएको छ । कार्यक्रममा बोल्दै एशोसिएसनका अध्यक्ष राम गुरुंगले १५ मिनेटको भिडियो मार्फत न्याभको हालसम्मको यात्रालाई उजागर गरिने जानकारी दिए ।

कार्यक्रममा सहभागी संस्थाका पदाधिकारीहरुले हाल नेप्लीज एशोसिएसन अफ भिक्टोरियामा १२ सय सदस्यहरु रहेको भएपनि भिक्टोरियामा आइपुग्ने सबै नेपाली स्वतः यसको सदस्य हुने जानकारी समेत गराएका थिए । यद्यपि सदस्यता बढाउने विषयमा आफुहरुले अभियान नै सञ्चालन गर्ने पनि उनीहरुले जानकारी दिए ।

२५ औं वार्षिकोत्सव कार्यक्रम मेलबर्नको थनवरी थियटरमा हुने भएको छ । यस अवसरमा विशेष वार्षिकोत्सवपुस्तिका समेत प्रकाशन गरिने भएको छ । कार्यक्रममा नेपाली समूदायका सदस्यका साथै अष्ट्रेलियको बहुसांस्कृतिक समूदायका नेताहरुलाई आमन्त्रण गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा यहाँका प्रिमियर डेनियल एन्ड्रयूलाई बोलाइएको भएपनि उनको प्रतिनिधित्व गर्दै बहुसांस्कृतिक मन्त्रीले सहभागिता जनाउने निश्चित भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

उक्त अवसरमा न्याभले बनाएका विभिन्न टास्क फोर्सका संयोजकहरु एवं न्याभका पूर्वअध्यक्षहरु संस्थापक अध्यक्ष डा. राजु अधिकारी, तारा गैरे, बम योन्जन, रन्जन वैद्य, डा. अनुपम पोखरेल लगायतले हालसम्मको तयारीबारे जानकारी दिएका थिए । उक्त अवसरमा बोल्दै समूदायका अगुवा जोग लिम्बुले २५ औं वार्षिकोत्सव विशेषांक तयार भइसकेको अब छपाईका लागि लैजाने तयारीमा रहेको बताएका थिए ।

२५ औं वार्षिकोत्सवको यो कार्यक्रममा सहभागी हुनका लागि भिक्टोरियामा रहेका नेपाली समूदायका सदस्यहरुलाई आफ्नो सहभागिता सुनिश्चित गर्न पनि आयोजकले आग्रह गरेका छन् । टिकट यहाँ बुक गर्न सकिन्छ