अभिनेत्री छिरिङलाई कोरियोग्राफीमा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र

अभिनेत्री छिरिङलाई कोरियोग्राफीमा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र


काठमाडौं ।

सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन्।

छिरिङ र जगदिश गुरुङ (जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाईमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड (पेयर)’को रेकर्ड राखेका थिए।

राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए। सन् २०२४ को स्प्रिङ (अप्रिल­–मे­) मा सगरमाथासमेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए।

‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो’,छिरिङले भनिन्, ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ।’

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन्। ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरुले ज्यान गुमाउनु परेको छ।

उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन्। आर्थिक अवस्था नाजुक बन्दै गएको छ। त्यसकारण उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उनले भनिन्।

छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहण सम्बन्धी तालिम लिइसकेकी छन्। उनी ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन्।

दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन्। शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन्। फिल्म ‘तिन्छेन फामा’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो।

उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुन्। छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–६ मा जन्मिएकी छिरिङ हाल गोर्कणेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारमा बस्छिन्।