हुन्डी कारोबारी ५४६ दिनदेखि अष्ट्रेलियाको जेलमा, सोमबार हुँदैछ फैसला !

हुन्डी कारोबारी ५४६ दिनदेखि अष्ट्रेलियाको जेलमा, सोमबार हुँदैछ फैसला !

४० जना व्यक्तिहरुको दुई लाख डलरभन्दा बढी रकम नेपाल पठाइदिने या नेपालबाट अष्ट्रेलिया ल्याइदिने भन्दै ठगी


मेलबर्न, अष्ट्रेलिया ।

विभिन्न ४० जना व्यक्तिहरुको दुई लाख डलरभन्दा बढी रकम नेपाल पठाइदिने या नेपालबाट अष्ट्रेलिया ल्याइदिने भन्दै ठगी गरेका मेलबर्न निवासी भरत केसी विगत ५ सय ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । मेलबर्नको फक्नरमा रहेको प्रहरी कार्यालयमा पीडितहरुले आफ्नो रकम फिर्ता गराइदिन र नेपाली समूदायमा लामो समयदेखि ठगी गर्दै आएको यो व्यक्तिलाई पक्राउ गरी समूदायलाई सुरक्षित तुल्याउन माग गर्दै उजुरी गरेका थिए । यसमा यहाँस्थित सञ्चारकर्मी र समूदायका केही अगुवाहरुको सक्रिय सहभागिता थियो ।

हुन्डी कारोबारी भरत केसीको मुद्दाको फैसला आगामी सोमबार हुने भएको छ । बुधबार राखिएको सुनवाईका क्रममा काउन्टि कोर्टका न्यायाधीशले सबै पक्षको कुरा सुनिसकेपछि आफ्नो फैसला अर्को सुनवाईमा दिने बताएका थिए । अर्को सुनवाई सोमबार राखिएको छ । ५ सय ४६ दिनदेखि (बिहीबारसम्म) जेलमा रहेका केसीले विभिन्न व्यक्तिहरुलाई नेपाल पैसा पठाइदिने भन्दै रकम आफुले लिने तर नेपालमा कुनै भुक्तानी नदिई झुलाउने गरेका थिए ।

यस्तै नेपालबाट अष्ट्रेलियामा पैसा लिन चाहनेहरुलाई उतैको खातामा विभिन्न व्यक्तिको नाममा जम्मा गर्न लगाउने तर यता नदिने पनि उनको धन्दा थियो । यस क्रममा अधिकांश विद्यार्थीहरु ठगिएका छन् । यसरी विद्यार्थीहरुको हजारौं डलर ठगी गरेका यिनले उल्टै गैरकानूनी रुपमा तोकिएको भन्दा बढी समय काम गरेको यहाँको ईमिग्रेसनमा भन्दिन्छु भन्दै धम्क्याउने गरेका थिए ।

पीडितमध्येका एकले केविसीखबरसँग कुरा गर्दै अदालतमा उपस्थित केसीले आफुले गल्ती गरेको स्वीकार गरेका छन् । विपक्षी वकिलको प्रश्नको जवाफ दिँदै निजले आपूm विभिन्न कारणवश यस्तो अवस्थामा पुगेको जिकिर गरेका थिए । यद्यपि सरकारी वकिलले भने निजले पटक पटक ठगी गरेको कारणबाट यो उनको पेशा नै बनिसकेको तर्क गरेका थिए ।

निज हुन्डी कारोबारी केसीका विरुद्ध नक्कली कागजात बनाएको समेत अभियोगमा मुद्दा दायर छ । निजले विभिन्न व्यक्तिहरुलाई बैंकमा रकम जम्मा गरेको नक्कली भौचर बनाएर समेत झुक्याउने गरेका थिए । अष्ट्रेलियामा यस किसिमको अपराधमा पाँच वर्षस्म्म जेल हुनसक्छ । अष्ट्रेलियामा कुनैपनि व्यक्तिले गरेको अपराध वापत १२ महिनाभन्दा बढी जेल सजाय भएको अवस्थामा निजलाई जेलबाट छुट्ने बित्तिकै देश निकाला गर्ने कानून छ ।

अष्ट्रेलियाको मेलबर्नमा हालसम्म हुन्डीको कारोबार गर्ने तीनजना प्रहरीको अनुसन्धानमा छन् । तिनीहरुमध्ये जेल परेर फैसलाको चरणमा पुगेका केसी पहिलो हुन् । अन्य दुईको विषयमा पनि प्रहरीले अनुसन्धान कारवाही अगाडि बढाइरहेको भएपनि यो निचोडमा भने पुग्न सकेको छैन ।

पछिल्लो समय अष्ट्रेलियामा रेमिट्यान्स कम्पनी सञ्चालन गर्ने नाममा हुन्डी चलाउनेहरुको संख्या पनि बढ्दो छ । यहाँको नियम अनुसार दर्ता गरेको हो भनेर रेमिट्यान्स सञ्चालन गरेपनि नेपालमा सरकारी निकायमा दर्ता नगरी विभिन्न बहानामा यहाँको रकमलाई चीन र भारततर्फ पठाउने र त्यहाँबाट पुनः हुन्डी मार्फत नेपालमा भुक्तानी दिने तरिका यी कारोबारीले अपनाउँदै आएका छन् ।

बारम्बार अष्ट्रेलियामा कारोबार गर्ने बैंक र खाता नम्बर परिवर्तन गरी सञ्चालन गर्नेहरु अन्ततः हुन्डीमै संलग्न भएको भेटिएको छ । अष्ट्रेलियामा अधिकांश विद्यार्थीहरु रहेका कारण उनीहरुलाई सजिलै ठग्न सकिने र कसैले प्रतिवाद गरेमा भोलि यहाँको सरकारी निकायमा उजुरी गरिदिन्छु भन्दै धम्क्याउने गरेको भुक्तभोगीहरु बताउँछन् ।