अष्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीलाई ‘गोल्डेन जुब्ली अवार्ड’ प्रदान

अष्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीलाई ‘गोल्डेन जुब्ली अवार्ड’ प्रदान


मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया पहिलो पटक पीआर लिएर स्थायी बसोबास गर्ने नेपाली अगुवा डा. नारायण प्रधान र इन्द्रा वनलाई एक भब्य समारोहबिच ‘गोल्डेन जुब्ली अवार्ड’ प्रदान गरिएको छ।

अष्ट्रेलियामा नेपाली समुदाय बसोबास गरेको ५० बर्ष पुगेको अवसरमा सिड्नीस्थित लुक्ला टेलिभिजन र भिएफएमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी उक्त अवार्ड प्रदान गरेको हो। डा. प्रधान र वनले पहिलो पटक अष्ट्रेलियाको पीआर लिएका नेपाली हुन्। उनीहरुसँगै डा. प्रधानका धर्मपत्नी लिलालाई पनि सम्मान गरियो।

सयौं नेपालीलगायत अन्य समुदायका व्यक्तिहरु उपस्थित समारोहमा डा. प्रधान र बमलाई नेपाली राजदुत कैलाशराज पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, अष्ट्रेलियाका संघीय तथा राज्यसभाका सांसद्हरुले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए।

डा. प्रधान र वन सन् १९७३ ताका अष्ट्रेलिया पुगेपछि नेपाली समुदायको उपस्थिति बाक्लिएको एवम नेपाल–अष्ट्रेलियाबिच कुटनीतिक सम्बन्ध विस्तार भएको मानिन्छ।

त्यसपछि दुवै देशका सरकारको पहलमा दूताबास र कुटनीतिक नियोगहरु स्थापना भएको हाे। अवार्ड समारोहमा राजदूत पोखरेलले सम्मानित व्यक्तिहरुले नेपाल–अष्ट्रेलिया सम्बन्ध विस्तारमा खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गरेका थिए।

अवार्ड वितरणपछि एनआरएनए अध्यक्ष पोखरेलले एक सन्देशमार्फत नेपालीहरुले अष्ट्रेलियामा बसेर गरिरहेको संघर्ष, नेपाली भाषा, संस्कृति र कलामार्फत मातृभूमी चिनाउन गरिरहेको प्रयासको प्रशंसा गरे। उनले डा. प्रधान र वनले गर्नुभएको त्याग, समर्पण र संघर्षको प्रशंसा गर्दै उहाँहरुले देखाउनुभएको बाटोलाई पछ्याउनुपर्ने बताए।