दही चोरेको आरोपमा दलित बालिकालाई बाँधेर यातना !

दही चोरेको आरोपमा दलित बालिकालाई बाँधेर यातना !


काठमाडौं, १ चैत । घरभित्र पसेर दही चोरेको आरोप लगाउँदै रामेछापको मन्थली नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ । मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको घरभित्र पसेर चोरी गरेको भन्दै ती दलित बालिकालाई श्रेष्ठले कुटपिट र यातना दिएका हुन् । श्रेष्ठसहित परिवारका सदस्यले ती बालिकालाई दही चोरेको भन्दै हात पछाडि बाँधेर मंगलबार मध्यान्हसम्म राखेका थिए ।
घटनाबारे जानकारी पाएपछि स्थानीय वडाध्यक्ष गोपाल माझीले जिल्ला प्रहरीमा खबर गरेका थिए । दही चोरेको आरोपसँगै दलित बालिका श्रेष्ठको घरभित्र पसेको हुँदा ’अशुद्ध’ भएको भन्दै श्रेष्ठले बालिकालाई कुटेका थिए । साथै उनले रुद्री लगाउने खर्च नदिएसम्म नछोड्ने भन्दै घण्टौंसम्म हात पछाडि थाममा बाँधेर राखेका थिए । स्थानीयहरूका अनुसार ती दलित बालिकाले शेरबहादुर श्रेष्ठको घरमा पसेर सोमबार मध्यान्ह दही चोरेर खाएकी थिइन् । श्रेष्ठ वस्तु चराउन गएको मौका पारेर उनको घरमा पसेकी भनिएकी ती बालिका चाउचाउ, दालमोठ र नरिवल हातमा लिएर निस्कँदै गर्दा श्रेष्ठले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार बालिका बाँधिएको हल्ला हुन थालेपछि श्रेष्ठले प्रहरी पुग्नुअघि नै डोरी खोलिदिएका थिए । आमा अन्यत्र गएको र भाइ सानो भएकाले सोमबार राति दलित बालिकाको परिवारका सदस्यले उक्त घटनाबारे थाहा पाएनन् । र बाहिर पनि हल्ला फैलन पाएको थिएन । बाँधिएकी दिदीसँगै पीडित बालिकाका भाइले पनि श्रेष्ठको दलानमै रात बिताएका थिए ।
दलानको थाममा बाँधिएकी बालिकालाई श्रेष्ठले राति खाना भने दिएको र ’खोलिदिन मन लागेपछि’ कतै भागे आफू परिन्छ कि भन्ने डरले खोल्न नसकेको श्रेष्ठले प्रहरी समक्ष बताएका छन् । प्रहरीले अहिले श्रेष्ठलाई नियन्त्रणमा लिएको र बालिकाको उद्धार गरी स्वास्थ्य परीक्षण गराउन पठाएको थिङले बताए ।
बालिकालाई दलित भएकै कारण २० घण्टासम्म बाँधेर राखेको घटनालाई जिल्लास्थित दलित अधिकारकर्मीले जातीय विभेदको रुपमा कारबाही हुनुपर्ने बताएका छन् । प्रनाउ थिङका अनुसार श्रेष्ठ विरुद्ध पीडित पक्षले जाहेरी ल्याइ नसकेकोले कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने कुराको टुंगा भइसकेको छैन ।