कँडेल कन्सल्टेन्सी कपको उपाधि आयोजक यति फुटबल क्लबलाई (भिडियोसहित)

कँडेल कन्सल्टेन्सी कपको उपाधि आयोजक यति फुटबल क्लबलाई (भिडियोसहित)


मेलबर्न, अष्ट्रेलिया ।

यति फुटबल क्लबको आयोजनामा भएको कँडेल कन्सल्टेन्सी कप २०२२ को उपाधि आयोजक यति फुटबल क्लब रातोले जितेको छ । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमार्फत यति क्लब रातोले यति क्लब नीलोलाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै उपाधिमाथि कब्जा गरेको हो ।

प्रतियोगिताको उपाधिसँगै यति फुटबल क्लबले ट्रफी, मेडलसहित ४५ सय अष्ट्रेलियन डलर पनि हात पारेको छ । यसैगरी दोश्रो हुने यति फुटबल क्लब नीलोले उपाधिसँगै दुई हजार डलर जितेको छ ।

प्रतियोगितामा खुल्ला उमेर समूहतर्फ २४ टिमको सहभागिता थियो । दुई दिनसम्म चलेको प्रतिस्पर्धात्मक प्रतियोगिताको तेश्रो हुने अवसर एडिलेडको गिरिश ईभेन्टस स्पोर्टिंग क्लबले जितेको छ । यसले दि राईजिंग गुर्खाजलाई पेनाल्टी सुटआउटमा एकका विरुद्ध दुई गोलले पराजित गरेको हो । निर्धाीरत समयमा एक एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा तीन खेलाडीहरु विकास गौचन, सुलभ मास्के र जगजीत श्रेष्ठले पाँच पाँच गोल गर्न सफल भए । उनीहरु तीनैजनाले हाईयेष्ट स्कोरर उपाधि जितेका छन् भने बेष्ट गोलकिपरको उपाधि यति फुटबल क्लबका एलन न्यौपानेले प्राप्त गरे । यस्तै बेष्ट प्लेयर अफ टुर्नामेन्टको उपाधि यतिकै विवेकप्रताप पन्तले जितेका छन् । म्यान अफ दि फाईनल म्याचको उपाधि यतिका गोकुल छन्त्यालले जित्न सफल भए ।

उता ३५ वर्षमाथिको उमेर समूहको फरएभर यंग विधाको उपाधि पारा पार्क फुटबल क्लबले जितेको छ । टिमका कुनाल लामा सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्न पुगे भने बेष्ट गोलकिपर पारा पार्ककै समिर तुलाधर बने भने बेष्ट प्लेयर पनि सोही टिमका राजेश लिम्बुले जित्न सफल भए । फाईनल प्रतिस्पर्धामा माछापुच्छ्रे फुटबल क्लबलाई पेनाल्टी सुटाउटमा शून्यका विरुद्ध दुई गोल अन्तरले हराउँदै पारा पार्कले उपाधि जितेको हो ।

पुरस्कार वितरण समारोहमा बोल्दै आयोजक क्लबका अध्यक्ष राज शर्माले खेलाडीहरु, कोच, रेफ्री सबैको सक्रिय सहभागिताले सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएकोमा प्रशन्नता व्यक्त गरेका थिए । प्रमुख प्रायोजक कँडेल कन्सल्टेन्सीका निर्देशक राज कँडेलले विजेता टिमलाई पुरस्कार हस्तान्तरण गरेका थिए । यस्तै अन्य विधाका विजयी खेलाडीहरुलाई एनआरएनका अध्यक्ष नन्द गुरुंग, भिक्टोरियन मल्टिचल्चरल कमिशनका पर्शुराम शर्मा लुईटेल, न्याभका पूर्वअध्यक्ष तारा गैरे, एनआरएन अष्ट्रेलिया युथ कोअर्डिनेटर बबिन मिश्र, ब्लूबेरी रियल स्टेटका विनित राज शर्मा, सारथी एकाउन्टका केशव सापकोटा लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

केविसीखबरसँग कुरा गर्दै प्रतियोगिताका कमिश्नर सज्जन शर्माले सहभागी सबै टिम उत्तिकै बलियो दाबेदार रहेका कारण खेल निकै रोचक बनेको बताए । उनले यो क्रममा साथ सहयोग दिने सबैमा आभार व्यक्त गरेका छन् । प्रतियोगितामा सहभागी हुन सिड्नी, क्यानबेरा, एडिलेड र होबार्टबाट नेपाली फुटबल टोलीहरु मेलबर्न आएका थिए ।

प्रतियोगिताको आकर्षण सेमिफाईनलपछिको हरेक गोलको एक सय डलर दिने घोषणा गरेको ब्लूबेरी रियल स्टेटले ३० भन्दा बढी गोलकर्ताहरुलाई हरेक गोलको सय डलरका दरले वितरण गरेको थियो । खेल भावनालाई प्रोत्साहन गर्न र अझै प्रतिस्पर्धात्मक बनाउन आफुहरुले हरेक गोलमा सय डलर दिने घोषणा गरेको ब्लूबेरीका महादेव धानुकले जानकारी दिए । प्रतियोगिता मेलबर्नको थनबरीमा अवस्थित डरेविन ईन्टरनेशनल स्पोर्टस सेन्टरमा आयोजना गरिएको थियो । तीनवटा मैदानमा एकसाथ प्रतियोगिताका विभिन्न खेलहरु सम्पन्न भएका थिए ।

Watch Video : Click here : https://fb.watch/bLvfHknC0f/

प्रतियोगितामा समूह ए मा बेनी फुटबल क्लब, हिमालयन टाईगर, माछापुच्छ्रे फुटबल क्लब, एडिलेड ड्रागन फुटबल क्लब परेका छन् भने समूह बीमा सगरमाथा फुटबल क्लब, रोयल फुटबल क्लब, वेष्ट युनाईटेड फुटबल क्लब, नेपाल युनाईटेड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।?दचश्रयस्तै समूह सीमा यति फुटबल क्लब रातो, हिमालयन फुटबल क्लब, चन्द्रसूर्य फुटबल क्लब, नेप्लीज फुटबल क्लब तास्मानियाले प्रतिस्पर्धा गर्नेछन् । समूह डीमा दि राईजिंग गुर्खाज, युनाईटेड फुटबल क्लब, पारा पार्क फुटबल क्लब, गिरिश ईभेन्ट स्पोर्टिग क्लबले प्रतिस्पर्धा गर्नेछन् भने ग्रुप ईमा सेन्ट जर्ज फुटबल क्लब, क्रेगीबर्न ब्रिगेड, फेवा फुटबल क्लब, एडिलेड ड्रागन स्पोर्टस क्लबले सुरुवाती खेल खेल्नेछन् । यस्तै समूह एफमा यति फुटबल क्लब नीलो, रोयल वेष्टर्न, एडिलेड खुकुरी फुटबल क्लब र क्यानबेरा नेप्लीज फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै फरएभर एंग अर्थात् ३५ वर्षभन्दा माथि उमेर समूहको फुटबल प्रतिस्पर्धामा ९ टिमको सहभागिता रहेको छ । समूह ए मा माछापुच्छ्रे फुटबल क्लब, फुटबल फर फन एण्ड फिटनेस, बेनी फुटलब क्लब, एडिलेड खुकुरी फुटबल क्लब रहेका छन् भने समूह बीमा यति फुटबल क्लब, क्रेगीबर्न ब्रिगेड, एभरेष्ट युनाईटेड, क्यानबेरा नेप्लीज फुटबल क्लब र पारा पार्क फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।