कांग्रेसको ६०५ स्थानीय तहमा नेतृत्व चयन, २५० स्थानीय तहमा संस्थापन पक्षको जित

कांग्रेसको ६०५ स्थानीय तहमा नेतृत्व चयन, २५० स्थानीय तहमा संस्थापन पक्षको जित


काठमाडौं, २० असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिलेसम्म ६४ जिल्लाका ६०५ स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । बुधबारसम्म परिणाम आएका ६०५ स्थानीय तहमध्ये २५० वटा स्थानीय तहको सभापति शेरबहादुर देउवानिकट सभापति निर्वाचित भएका छन्  । त्यस्तै रामचन्द्र पौडेल समूहबाट १८० जना निर्वाचित भएका छन् । त्यसैगरी कृष्णप्रसाद सिटौलानिकट १६ जना, विजयकुमार गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । पक्ष नखुल्ने ४९ जना र बाँकी दुवै पक्षसँग नजिक छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल पक्षले ४९ स्थानमा मात्रै सभापति जितेको छ । त्यस्तै, प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् । वाग्मती प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने वाग्मतिमा ३३ स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् ।

गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उहाँ पक्षका २७ जनाले मात्रै पालिको सभापतिमा जित हासिल गरेका छन् । लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडि देखिएको छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिकामध्ये देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै पौडेल समूहले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कतिपय निर्वाचित सभापतिहरु कुन पक्षमा हो भन्ने प्रस्ट खुलेका छैनन् । सुदूरपश्चिम प्रदेशका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १७ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने बझाङको १ ठाउँमा मात्रै जितेको छ ।

कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन नै गर्न सकेको छैन । वडा अधिवेशन भइसकेका ६४ जिल्लामा पनि कतिपय ठाउँमा पालिका अधिवेशन हुन सकेको छैन ।