एनआरएन अष्ट्रेलियाको ज्ञापनपत्र बुझेपछि के भने परराष्ट्रमन्त्री साउदले ?

एनआरएन अष्ट्रेलियाको ज्ञापनपत्र बुझेपछि के भने परराष्ट्रमन्त्री साउदले ?


मेलबर्न, अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालका परराष्ट्रमन्त्री एनपी साउदलाई अष्ट्रेलियाको राजधानी क्यानबेरामा एक ज्ञापनपत्र बुझाएको छ।  एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेलले मन्त्री साउदलाई नेपाली दूतावासमै भेटेर ज्ञापन पत्र बुझाएका हुन्। 

ज्ञापन पत्रमा अष्ट्रेलियामा नेपालीहरूले भोग्नुपरेका समस्यालाई समाधान गर्न माग गरिएको छ। केविसीखबरलाई अध्यक्ष पोखरेलले उपलब्ध गराएको ज्ञापन पत्रमा मुख्यत दूतावास र त्यसमा पनि पछिल्लो समय पासपोर्ट नवीकरणका लागि विभिन्न राज्यमा रहेका नेपालीहरूले भोग्नुपरेको समस्यालाई उत्थान गरिएको छ। यो समस्या समाधानका लागि दूतावासमा हाल रहेको जनशक्ति अपुग भएकोले तत्कालै नयाँ व्यवस्था गर्न पनि माग गरिएको छ। 

ज्ञापनपत्रमा नेपाल सरकारले विदेशमा बस्ने नेपालीहरुलाई एनआरएन नागरिकता दिने निर्णय गरे पनि त्यसको कार्यान्वयनमा आइपरेका समस्याहरूलाई समाधानका निम्ति समेत माग गरिएको छ। जसमा सम्पत्ति खरिद विक्री र भिसामा छुटको व्यवस्था मुख्य छन्। 

एनआरएनए अध्यक्ष पोखरेलले शिक्षा क्षेत्रमार्फत अष्ट्रेलियाको अर्थतन्त्रमा नेपालको विशेष भूमिका रहेको उल्लेख गर्दै नेपालको अर्थतन्त्रमा लगानी वा सहयोग प्रदान गर्न अष्ट्रेलिया सरकारसँग लबिङ गर्न आग्रह गरेका छन्। 

उनले नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको आकार बढाउन अष्ट्रेलिया सरकारसँग कूटनीतिक पहल गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्। अष्ट्रेलियाको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको नेपाली समूदायले त्यस अनुसार सहयोग प्राप्त गर्न नसकेको पृष्ठभूमिमा अध्यक्ष पोखरेलले यो विषय उठान गरेका हुन्। 

ज्ञापन पत्र बुझ्दै परराष्ट्रमन्त्री साउदले यी विषयहरू आफ्नो जानकारीमा रहेको र त्यसलाई समाधान गर्न सकेसम्म छिटो पहल गर्ने धारणा राखेका थिए।