नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य


काठमाडौँ ।

क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनायो।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे। उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए। खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाउन पुग्यो। सुरुआती ब्याट्सम्यान आशिफ २४ बलमा आठ रन जोड्दै आउट भए । उनी नौ ओभर एक बलमा उदय भागवानको बलमा नवनीत धलिवालबाट क्याच आउट भएका थिए।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेल आठ रनमा आउट भए। उनी १४ ओभर तीन बलमा ईश्वर ज्योति सोहीको बलमा हर्ष थेकरबाट क्याच आउट हुन पुगे। नेपालले तेस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमायो। नेपालका लागि अर्धशतकीय इनिङ्स खेलेका उनले ६२ जोडे।

त्यसपछि चौथो विकेटको रूपमा नेपालले भीम सार्कीलाई गुमायो। भीमले २६ बल खेल्दै दुई चौकाको मद्दतमा १७ रन जोडे। कुशल मल्ल ३२ बलमा एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदै आउट भए। कुशल हर्ष थेकरको बलमा निकोलस किर्तनबाट क्याच आउट भएका हुन्।

त्यसैगरी नेपालले छैटौँ विकेटको रुपमा आरिफ शेखलाई गुमायो। आरिफले ५० बलमा चार चौकासहित ३८ रन बनाए। त्यसपछि पवन सर्राफ आउट भए । उनले ३४ बलमा एक चौका प्रहार गर्दै १५ रन बनाए। उनी ४१ ओभर एक बलमा शाहिद अहमदजाइको बलमा आउट भए। खेलको ४८ ओभर पाँच बलमा सोमपाल कामी उदय भागवानको बलमा परगत सिंहबाट क्याच आउट भए।

उनन्चास ओभर पाँच बलमा नेपालले नवौँ विकेटको रूपमा रिजन ढकाललाई गुमायो। उनी चार बलमा चार रन जोड्दै ईश्वरजोतको बलमा आउट भए। त्यसैगरी नेपालले अन्तिम विकेटको रुपमा ललित राजवंशीलाई गुमायो। ललित खेलको अन्तिम बलमा रनआउट हुन पुगे।

बलिङतर्फ क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान दुई–दुई विकेट लिए। त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एकरएक विकेट झारे।

आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो। नेपालले क्यानडासँग दोस्रो खेल यही माघ २७ गते खेल्नेछ भने माघ २९ गते तेस्रो खेल खेल्नेछ।