संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्रीको चासो

संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्रीको चासो


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुसँग संघीयताको प्रभावकारी कार्यान्वयन र सबल गराउनेबारे छलफल गरेका छन्।

संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता, मुख्यमन्त्रीहरू र प्रधानमन्त्री प्रचण्डसहितले छलफल गरेका हुन्। सघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा दाहालले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेका छन्। बैठकमा सक्तारुढ गठबन्धन दलका नेता र मुख्यमन्त्रीहरु सहभागी भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा)लगायत दलका नेताहरूको सहभागित रहेको थियो।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयनको विषयमा पनि छलफल भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो। तर, अध्यक्ष चयनमा सत्ता नेतृत्व गरिरहेको दल माओवादीले चासो देखाउँदा सत्ता साझेदार दल कांग्रेसले दाबी गर्दै आएको छ।