तास्मानियाको होबार्टमा आप्रवासीमाथि आक्रमण, बारम्बार नेपाली व्यवसायी निशानामा 

तास्मानियाको होबार्टमा आप्रवासीमाथि आक्रमण, बारम्बार नेपाली व्यवसायी निशानामा 


होबार्ट तास्मिानिया ।

अष्ट्रेलियाको टापु राज्य तास्मानियामा नेपाली समूदायले सञ्चालन गरेका विभिन्न व्यवसायहरूमा बारम्बार आक्रमण भएपछि यति बेला यो विषय चर्चाको केन्द्रमा छ। नेपाली मात्र होइन हालै एक भारतीय युवकलाई गरिएको आक्रमणमा उनको निधन समेत भएपछि समस्या झन् पेचिलो बनेको छ। विभिन्न राज्यका निकायहरूलाई सम्पर्क गर्दा समेत कुनै सहयोग पाउन नसकेपछि विभिन्न राज्यबाट तास्मानियाको होबार्टमा बसाई सरेकाहरु अब के गर्ने भन्ने चिन्तामा छन्। स्थायी बसोबासका लागि सजिलो हुन्छ भन्ने आधारमा यो ठाउँमा पुगेका उनीहरू अन्य विकल्पको विषयमा समेत सोच्न थालेका छन्। 

तास्मानियाको होबार्टमा स्थानीय समुदायबाट नेपालीका व्यवसायलाई निसाना बनाइएको छ। होबार्टमा तोयाराज भट्टराईले संचालन गर्दै आएको मुनलाइट सुपरमार्केटमा डिसेम्बर ३ तारिख स्थानीय युवाहरुले तोडफोड गरे। ५ जनाको समूहमा आएका ती युवकले पसलमा काम गर्ने कर्मचारीमाथि पनि कुटपिट गरेको संचालक भट्टराईको भनाइ छ। एक्कासि सामान पसलबाहिर फाल्न थालेपछि रोक्न खोज्दा भट्टराईमाथि पनि ती युवकले आक्रमण गरेका थिए।  बिहीबार राति पनि मुनलाइट सुपरमार्केटमा तोडफोट गरी एक हजार अष्ट्रेलियन डलर बराबरको सामान चोरेर लगेको संचालक भट्टराईले जानकारी दिए।

तोडफोटपछि मुनलाइट सुपरमार्केटकाे मुल ढोकोमा क्षेती पुगेको छ। तस्बिर मिलन पौडेल

यस्तै होबार्टको क्लेरमोन्टमा मोबाइल पसलमा संचालन गर्दै आएका विजय तामाङले पनि यस्तै नियती भोग्नु पर्यो। उनले यो व्यवसाय सञ्चालन गरेदेखि यहाँको स्थानीयबाट धेरै पटक दुर्व्यवहार सहनु परेको बताए। केविसीसँगको कुराकानीमा उनले दश पटकसम्म मोबाइल पसलमा तोडफोड र आफूमाथि भौतिक आक्रमण भएको सुनाए। उनी अब यो मोबाइल पसल बिक्री गरेर सिड्नी तिर सर्ने सोच्दैछन्। दिनहुँ जसो स्थानीय किशोरबाट पसलमा तोडफोड हुनु सामान्य बन्दै गएको छ। यती हुँदा सम्म पनि यहाँको प्रहरी प्रशासनले चासो नदिएको उनले गुनासो गरे।

असुरक्षाका कारण होबार्टका धेरै नेपाली व्यवसायी व्यवसाय नै बन्द गर्ने सोचमा छन्। यस्ता घटनाका बारेमा यहाँको प्रहरी प्रशासनलाई खबर गरे पनि समस्या ज्यूँकात्यूँ छ। स्थानीयले आक्रमण गरेपछि प्रहरीलाई खबर गर्दा ढिलो आइदिने पक्राउ गरे पनि उनीहरूमाथि कारबाही भएको छैन। मुनलाइट सुपरमार्केट पुलिस स्टेसनबाट एक मिनेटको दुरीमा छ।  

नेपाली समुदायलाई भेदभाव र उत्पीडनका घटनाहरू कसरी रिपोर्ट गर्ने भन्ने बारे तास्मानियाका नेपालीहरुको संस्था नेपाली सोसाइटी अफ तास्मानियाले कम्युनिटी इन्फरमेसन अन एन्टी डिस्क्रिमिनेसन सबन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा सहभागिता जनाउने समुदायका अगुवाहरूले नेपाली समुदायमाथि भइरहेको आक्रमण अत्यन्तै खेदजनक भएको बताएका थिए। कार्यक्रममा प्रहरी प्रशासनले आप्रवासीहरूमाथिको विभेद रोक्ने बचन पनि दिएको थियो।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा तास्मानिया राज्यका संयोजक जगदिश खड्का

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा तास्मानिया राज्यका संयोजक जगदिश खड्काले आप्रवासीमाथिको दुर्व्यवहार तत्काल रोकिनु पर्ने धारणा राखे। उनले नेपाली समुदायमाथि यसरी आक्रमण भइरहे दीर्घकालमा यसले ठुलो रूप धारण गर्ने सम्भावना रहेको बताए। राज्यका विभिन्न निकायहरूलाई जानकारी गराए पनि उनीहरूले ठोस कदम नचाल्नाले घटना बारम्बार दोहोरिएको अनुभव उनको छ। पटक–पटक नेपालीका व्यवसाय र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा नेपाली दूतावासले पहल लिनु पर्ने उनीहरूको माग छ। 

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलसँग पनि यस विषयमा राज्य संयोजकले कुरा गरेका छन्। तास्मानियामा मात्र नभएर अष्ट्रेलियाका अन्य राज्यमा पनि नेपालीहरु कुनै न कुनै दुर्व्यवहारकाे सिकार भइरहेको बेला राजदूतवासले केही कदम चाल्नुपर्ने आवश्यकता धेरैले महसुस गरेका छन्। संयोजक खड्का भन्छन् हाम्रो अभिभावक दूतावास भएकाले राजदूतसँग यस विषयमा छलफल गर्न समय मागिएको छ।  

नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष संसारराज चिमोरियाले पछिल्लो समयमा तास्मानियामा आप्रवासीमाथि भएको दुव्र्यवहारलाई सोसाईटीले गम्भीर रूपमा लिएको बताए। लामो समयदेखि यहाँको नेपाली समुदायले भोग्दै आएको दुर्व्यवहारका बारेमा आफुहरुले कुरा उठाइरहेको बताए। 

नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष संसारराज चिमोरिया

यो लामो समयदेखि भइरहेको समस्या हो, यसले आवाज पाएको थिएन। उनले भने, नेपाली सोसाइटीले केही कदमहरू अगाडी बढाएको छ। सोसाइटीले एन्टी डिस्क्रिमिनेसन सबन्धी कार्यक्रम गरिराखेको छ। कुन कुन कुराहरू एन्टी डिस्क्रिमिनेसन पर्छ ? कुन कुन कुराहरू रिपोर्ट गर्न सकिन्छ भनेर ईक्वेल अपर्चुनेटी अफ तास्मानियासँग मिलेर बिभिन्न कार्यक्रम पनि भएका छन्। प्रहरीको कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला सोसाइटीले प्रहरी प्रशासनसँग पनि यसबारेमा कुरा राखेको उनको भनाइ छ। 

होबार्टको ग्लोनर्कि क्षेत्रमा नेपाली व्यवसायीमाथि आक्रमणका बारेमा तास्मानियाका विभिन्न संघ संस्थासँगको सहकार्यमा नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानिया (एनबीए)ले काम गरिरहेको अध्यक्ष उमेश सुन्चेउरीले केविसीलाई बताए। नेपाली सोसाइटी अफ तास्मानियाले गरेको कम्युनिटी इन्फरमेसन अन एन्टी डिस्क्रिमिनेसन सबन्धी अन्तरक्रिया कार्यक्रममा एनबीएका तर्फबाट नेपाली व्यवसायीमाथिको दुव्यवहारका बारेमा कुरा राखेको उनले बताए। उक्त कार्यक्रममा ग्लोनर्कि सिटीका इन्सपेक्टरले नेपाली व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको उनको भनाई छ। उनले भने, एनबीएले निकट भविष्यमा मेन्टल हेल्थसबन्धी केही प्रोग्राम ल्याउने छ। नेपाली व्यवसायीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर एनबीएले केही योजना बनाएको छ।  

नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानिया (एनबीए)का अध्यक्ष उमेश सुन्चेउरी

नेपाली व्यवसायीहरूमाथि आक्रमण गर्नेहरू अधिकांश किशोर उमेरका व्यक्तिहरू भएको र तिनीहरूलाई अष्ट्रेलियामा कारबाही गर्ने कानुन फितलो हुँदा समस्या अझै बढेको छ। नेपाली समुदायकी अगुवा पुनम पन्त दुर्व्यवहार भिडियो क्लिप, तस्बिरहरु लिएर सप्रमाण प्रहरी प्रशासनमा जाँदा पनि प्रहरीले कुनै एक्सन लिन नसकेको बताउँछिन्। आप्रवासीमाथिको आक्रमण दिन प्रतिदिन बढ्दै गएकाले यसबारेमा नेपाली समुदायमा जागरण ल्याउनुपर्ने उनले बताइन्। यहाँको नागरिक सरह सरकारलाई कर तिरेको हुँदा स्थानीय सरकारले पनि आप्रवासीका कुरा सुन्नु पर्ने उनको धारणा छ। उनले राज्य सरकारको प्रिमियर, बहुसांस्कृतिक मन्त्री, प्रहरीको प्रमुखलाई सँगै राखेर प्रश्न उत्तरको कार्यक्रमका लागि पहल गरिरहेको बताइन्। एक जनामाथिको आक्रमण व्यक्तिगत रूपमा लिनुभन्दा पनि यो पुरै आप्रवासीमाथिको आक्रमण हो भनेर यसलाई व्यापक बनाएर अगाडी लैजाने सोचका साथ सबै समुदायसँग छलफल भइरहेको उनले बताइन्। 

सामाजिक अभियन्ता पुनम पन्त

निरन्तरको आक्रमणका कारण व्यवसायी पलायन हुने अवस्था छ भने अर्कोतर्फ स्थानीय किशोरहरूमा कारबाहीको डर नहुँदा घटनाहरु बढिरहेका छन्। नेपाली दूतावास, समूदायिक संस्थाहरुले तत्कालै यसमा पहल नलिने हो भने स्थिति अझै बढ्ने र ठूलो दुर्घटनाको खतरा बढ्दै गएको धेरैले महसुस गरेका छन्।