प्रकाशमान सिंहको प्रश्नः गणेशमानको छोरा हुँदैमा सभापति बन्न किन नपाउने ?

प्रकाशमान सिंहको प्रश्नः गणेशमानको छोरा हुँदैमा सभापति बन्न किन नपाउने ?


काठमाडौं, २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्वकर्ता कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको दाबी गर्नुभएको छ । कांग्रेस काठमाडौं महानगर कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिन बुधबार आयोजित कार्यक्रममा नेता सिंहले १३औं महाधिवेशनपछि पार्टीको नेतृत्व कमजोर नेताको हातमा पुगेको आरोप लगाउनुभएको हो । यसैकारण कांग्रेस कमजोर भएको र कम्युनिस्टहरूको मनोबल बढेको उहाँको भनाइ छ । ‘पटकपटक प्रतिनिधिसभा किन विघटन भयो’, सिंहले भन्नुभयो, ‘१३औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो। परिणाम स्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ । १४औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन ।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै नेता सिंहले यस्तै अवस्था रहे केही दिनपछि कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने टिप्पणी पनि गर्नुभयो । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको दाबी गर्दै उहाँले सभापति बन्न नहुने कारण देखाइदिन उहाँहरुलाई आग्रह गरेको बताउनुभयो । ‘मैले शेरबहादुर दाइलाई भनिसकेको छु । पाँचपटक प्रधानमन्त्री भइसक्नुभएको छ, विभाजित कांग्रेस र अहिले गरी दुईपटक सभापति बनिसक्नुभएको छ।  अब छाडिदिनुर्पयो। रामचन्द्र दाइलाई पनि भनिसकेको छु’, सिंहले भने, ‘काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने ? गणेशमानको छोरा हुँदैमा सभापति बन्न पाइँदैन ? सभापति बन्न नहुने उहाँहरुले कारण देखाइदिनुप¥यो । गणेशमानको परिवारले सधैँ त्याग मात्र गर्नुपर्ने?’

१३औं महाधिवेशनमा आफूले वरिष्ठ नेता पौडेललाई सभापति बन्न छाडिदिएको जिकिर गर्दै उनले यसपटक कुनै हालतमा पछि नहट्ने बताउनुभयो । राजनीतिमा ५० वर्षको आफ्नो अनुभवका माध्यमबाट कांग्रेसलाई सबल बनाउन चाहेका उहाँको भनाइ थियो ।