सुदूरपश्चिम समाज भिक्टोरियाले मनायो ‘अष्ट्रेलिया डे’ 

सुदूरपश्चिम समाज भिक्टोरियाले मनायो ‘अष्ट्रेलिया डे’ 


मेलबर्न, अष्ट्रेलिया ।

नेपालको सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने हाल भिक्टोरिया निवासीहरूको सामाजिक संस्था फार वेष्टर्न नेप्लीज सोसाईटी अफ भिक्टोरियाले ‘अष्ट्रेलिया डे’ विभिन्न कार्यक्रम गरी मनाएको छ। भिक्टोरिया सरकारको आर्थिक अनुदानमा आयोजना गरिएको कार्यक्रम मेलबर्नको कोबर्ग लेक पार्कमा गरिएको थियो। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिका साथै बार्बिक्यू लगायत खाना वितरण गरिएको थियो।

अष्ट्रेलियाका बुहसांस्कृतिक समूदायका धेरै सदस्यहरू सहभागी हुनुभयो। हामीले सबैलाई समान रुपमा अष्ट्रेलिया डे मनाउने वातावरण बनायौं जस्तो लाग्छ। अध्यक्ष नरेश रावलले केविसीखबरसँग भने। 

उक्त अवसरमा गायक प्रविन योन्जनले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। यस्तै बालबालिकाहरूको लागि विभिन्न गतिविधि आयोजना समेत गरिएको थियो।समाजले अष्ट्रेलिया हुर्किँदै गरेको दोस्रो पुस्ताका बालबालिकाहरूलाई अष्ट्रेलिया र नेपालबारे साझा दृष्टिकोण बनाउन दुवै देशका लागि आफ्नो जरा एकसाथ बलियो राख्ने सुनिश्चित गर्न किड्स एक्टिभिटीको आयोजना गरेको संस्थाका प्रवक्ता दिप चन्दले बताए। समाजले आयोजना गरेका गतिविधिमा बालबालिकाहरूले उत्साहपूर्वक सहभागिता जनाएको उनले बताए। सहभागी बालबालिकाले प्रेम र सद्भाव प्रदर्शन गरेको उनको भनाइ छ।

आगामी कार्यक्रमहरूको लागि उनीहरूको सहभागितालाई निरन्तरता दिन प्रत्येक बालबालिकालाई उपहारसमेत पनि प्रदान गरिएको उनले जानकारी दिए। राशीसिंह ठकुरीको संयोजनमा भएको किड्स एक्टिभिटीलाई प्रतिभा शाहले साथ दिएकी थिइन। 

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक मनिरत्न सापकोटा, एन्जाका अध्यक्ष चिरञ्जिवीराज देवकोटा, एएनएमसीका अध्यक्ष गान्धि प्रसाद भट्टराई, न्याभका अध्यक्ष प्रेम उप्रेतीलगायत भिक्टोरियामा रहेका नेपाली संघ संस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।