रुखमा डेरा बनाएर पढ्ने धनकुमार ‘वर्ष चर्चित विद्यार्थी’ को उपाधि

रुखमा डेरा बनाएर पढ्ने धनकुमार ‘वर्ष चर्चित विद्यार्थी’ को उपाधि


खोटाङ, २४ फागुन । कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएको छ । आफू अध्ययनरत विद्यालयले मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको हो ।
सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्यालय बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएकामा प्रोत्साहन स्वरूप विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो ।
महामारीको कठिन समयमा रुखमा डेरा बनाएर पढाइमा सहभागी बनेर अन्य बालबालिकालाई सिकाइप्रति प्रोत्साहित गरेकाले छात्र मगरलाई ‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेशनल’ विद्यार्थीका रूपमा पुरस्कृत गरिएको सरस्वती माविका प्रधानाध्यापक नवीन चाम्लिङले बताउनुभयो ।
गएको साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर घर नजिकैको रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगर घर वरपर मोबाइल डाटा चल्ने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको प्रअ चाम्लिङले बताउनुभयो ।