एनआरएन नागरिकता कार्यान्वयनमा देखियो समस्या, थप पहल गर्ने सरोकारवालाहरूको प्रतिबद्धता 

एनआरएन नागरिकता कार्यान्वयनमा देखियो समस्या, थप पहल गर्ने सरोकारवालाहरूको प्रतिबद्धता 


सिड्नी, अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले एनआरएन नागरिकताको विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। भर्चुअल माध्यमबाट भएको यस अन्तरक्रियामा अष्ट्रेलियाबाट सय जनाभन्दा बढी सहभागी भएका थिए।

नेपाल सरकारले एनआरएन नागरिकता लागू गरेपछि उत्साही रहेका विदेशमा बस्ने नेपालीहरूले कानूनले प्रत्याभूत गरेको सुविधा अझै पाउन नसकेको अन्तरक्रियामा उजागर भएको थियो।

कार्यक्रममा सहजकर्ताको रूपमा निम्त्याइएका नेपाल सरकारका पूर्वमन्त्री एवं काँग्रेस नेता रमेश लेखकले नागरिकता दिए पनि त्यसका आधारमा पाउनुपर्ने सुविधा नपाएका कारण भएको दुःखका लागि आफ्नो तर्फबाट क्षमायाचना गरे।

उनले सरकारसँग यस विषयमा केही समयमै एउटा टोली बनाएर आफूहरूले भेट गर्न जाने र समस्या समाधानका लागि पहल गर्ने बचनबद्धता पनि जनाए।

यस्तै एनआरएन नागरिकताका विषयमा संस्थाको तर्फबाट फोकल पर्सन तोकिएका पत्रकार सरोज दाहालले एनआरएन नागरिकताको सुरुवातदेखि हालसम्म भएका कार्यप्रतिको विवरण पेस गरेका थिए। उक्त अवसरमा उठेका विभिन्न प्रश्नको पनि उनले उत्तर दिने प्रयास गरे।

निष्कर्षमा नागरिकता प्राप्त गर्नु सफलता भए पनि नागरिकका रूपमा प्राप्त हुने अधिकार भने हालसम्म पनि पाउन नसकिएको, राज्यका विभिन्न निकायहरूबिचमा समन्वय अभाव रहेको र नागरिकता भने पनि यो मात्र परिचयपत्रमा सीमित रहेको निष्कर्ष निस्किएको थियो। 

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाल सरकारले विदेशबाट पनि आवेदन दिन सकिने व्यवस्था गरेको भए पनि नागरिकता प्राप्त गर्न नेपाल जानै पर्ने भएकोले खासै आवेदन नआएको जानकारी दिए। 

अन्तरक्रिया कार्यक्रममा बोल्दै अष्ट्रेलिया निवासी बेनी बरालले एनआरएन नागरिकता पाएपछि आफूले पाएको समस्या उजागर गरेका थिए। उनले नेपालमा गएर जग्गा किन्नका लागि बैनाबट्टा गरी मालपोत पुगेर राजश्व समेत बुझाइसकेपछि एनआरएन नागरिकताका आधारमा जग्गा किनबेच हुन नसक्ने उत्तर पाएर आफू तनावमा परेको बताएका थिए।

उनको प्रश्न थियो, के के न गरेजस्तो हल्ला गर्ने तर कार्यान्वयनमा जाँदा आएका समस्या समाधान गर्न कसैले नहेर्ने, जिम्मा नलिने परिपाटीले मेरो लाखौं खर्च त्यसै खेर गयो। 

एनआरएन नागरिकता पाएका व्यक्तिहरूले राजनीतिक अधिकार बाहेक सबै अधिकार भोग चलन गर्न पाउने वातावरण निर्माणका लागि हाल देखिएका समस्या सबै टिपोट गरेर एनआरएन आईसीसी मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइने एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रतिबद्धता जनाएका थिए।