सिड्नीमा भव्य रूपमा मनाइयो ‘माघी पर्व’

सिड्नीमा भव्य रूपमा मनाइयो ‘माघी पर्व’


सिड्नी अष्ट्रेलिया । 

थारु समाज सिड्नीले भव्य रूपमा ‘माघी पर्व’ मनाएको छ। १५ जनवरी सोमवार ईन्द्रेणी फंक्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी ‘माघी पर्व’ भव्य रूपमा मनाइएको हो। विगतका वर्षहरूमा खुल्ला पार्कमा आयोजना गरिँदै आएको कार्यक्रम यस वर्ष भने मौसमका कारण ईन्द्रेणी फंक्सन सेन्टरमा गरिएको हो। यसमा छुट्टै अनुभव समेटिएको थियो। 

थारु समाज सिड्नी महिला संयोजक मिश्रा चौधरीको स्वगत मन्तव्य वाट शुरु भएको कार्यक्रममा नेपालको दाङबाट आएका अभिभावक एवम् जेष्ठ नागरिक श्री प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि चौधरीले माघी पर्वले थारु समुदायमा सामाजिक सहिष्णुता तथा समझदारी पुर्ण सम्बन्धको विकास गराउने बताए। उनले विदेशमा रहेर पनि आफ्नो पहिचान झल्काउने गरी आयोजना गरिएको कार्यक्रमले भावी पुस्तालाई समेत संस्कृति बचाई राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा थारु समाज सिड्नीका अध्यक्ष दिपनारायण चौधरीले कार्यक्रम प्रत्येक वर्ष झन् झन् उत्कृष्ट बन्दै गइरहेको बताए। उनले कार्यक्रम सोचे भन्दा पनि सफल भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने थारु समाजका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै थारु समाजले आगामी दिनमा पनि नेपालकै झल्को दिने गरी कार्यक्रम गर्ने उद्घोष गरे।

कार्यक्रममा बोल्दै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आफू पनि थारु समुदायको बसोबास रहेको क्षेत्रमा हुर्किएकाले थारु समुदायको रीतिरिवाजसंग नजिक रहेको बताए। उनले विदेशमा रहेर पनि आफ्नो पहिचान झल्काउने गरी आयोजना गरिएको कार्यक्रमले भावी पुस्तालाई समेत संस्कृति बचाई राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा बोल्दै निम्फा अध्यक्ष सुदर्शन थापा मगरले भौगोलिक विविधता संगै सांस्कृतिक र सांस्कारिक विविधता बोकेको नेपालमा रहेको थारु समुदायहरूको मुख्य पर्वको रूपमा मनाइने माघी पर्व अस्ट्रेलियामा समेत देख्न पाउँदा खुसी लागेको बताए।

कार्यक्रममा नेपालको पूर्व देखि पश्चिम सम्मका थारु परिकार तथा पहिरनहरूले सजिएर ईन्देणी फंक्सन सेन्टर रगींबिरगीं भएको थियो भने पूर्व देखि पश्चिमसम्मका थारुका परिकार र पहिरनको प्रदर्शनी गरिएको थियो। थारु समुदायको संस्कृति झल्काउने थारू लाठी नाच, क्याटवक प्रस्तुतले कार्यक्रमलाई रौनकता दिनुका साथै मौलिकता झल्काएको थियो। क्याटवकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका ठाउँका पहिरनमा सजिएका युवा–युवती क्याटवक गर्दा दर्शकहरुको ध्यान तानेको थियो। त्यस्तै युवा पुस्ताबीच रुचाईएका डिजे नटकेशको संगीतले कार्यक्रमको माहौल झन् तताएको थियो।

कार्यक्रममा जगदम्बा चौधरी,  निम्फाका पूर्व अध्यक्ष अरुण के तामाङ, तमु समाजका कार्यवाहक अध्यक्ष हिउपति गुरुङ, चित्र तुम्बाहाम्फे, निम्फाका महासचिव अविरल तामाङ , महेन्द्र घिमिरे , सूर्य खनाल, विस्वास श्रेष्ठ, छिरिङ लामा, लक्ष्मण गुरूङ, ईथान शाक्य, संतोष थुलुंग राई, सिमा सुब्बा बासु घिमिरे, लगायत विभिन्न सघं-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

‘माघी पर्व’ थारुहरूको सबैभन्दा ठुलो पर्व भएकाले यसलाई परापूर्व कालदेखि नै धूमधामका साथ मनाउँदै आइरहेका छन्। आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोसेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ। यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ। थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरेको छ।