चोरीको कार सिड्नी हार्बरमा दुर्घटना, आगो लागेपछि ट्राफिक अस्तव्यस्त

चोरीको कार सिड्नी हार्बरमा दुर्घटना, आगो लागेपछि ट्राफिक अस्तव्यस्त



सिड्नी, अष्ट्रेलिया ।

सिड्नीमा एक चोरीको कार हार्बर ब्रिजमा पल्टिएर त्यसमा आगलागी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सोमबार विहान ७ बजेतिर भएको घटनापछि सिटीभित्र जाने र बाहिर निस्किनेहरु समस्यामा परेका थिए ।

तिव्र गतिमा दौडाइएको कार चोरीको भएको पछि खुलेको थियो । कार चलाइरहेका व्यक्तिको स्वास्थ्य अवस्था चिन्ताजनक छ । निजको उपचार रोयल नर्थसोर हस्पिटलमा भइरहेको छ ।

निज व्यक्तिले उक्त टोयोटा क्लूगर कार ससेक्स स्ट्रीटबाट चोरेका थिए । निजले दौडाएको गाडी एक भ्यानमा ठोकिएको थियो । भ्यानका चालकलाई प्रहरीले ढोका फुटाएर निकाल्नुपरेको थियो ।

ठोकिएपछि उल्टिएको कारमा आगलागी भएको थियो भने निज व्यक्तिलाई अन्य यात्रीहरुले उद्धार गरेका थिए । प्रहरीले गाडीका धनीसँग सोधपुछ गरेको छ भने गाडी चलाउने व्यक्तिसँग बयान लिन सकिएको छैन । हार्बर ब्रिज तीन घण्टा बन्द गरिएको थियो । पूर्ण रुपमा बाटो सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले बताएको छ ।