अष्ट्रेलियाका नेपाली पत्रकारहरुको अधिवेशन र सामूदायिक अन्तरक्रिया ब्रिजबेनमा सम्पन्न

अष्ट्रेलियाका नेपाली पत्रकारहरुको अधिवेशन र सामूदायिक अन्तरक्रिया ब्रिजबेनमा सम्पन्न


ब्रिजबेन, अष्ट्रेलिया ।

अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसियसन (एन्जा)को वार्षिक साधारण सभा ब्रिजबेनमा सम्पन्न भएको छ। शनिबार ब्रिजवेनमा भएको साधारण सभामा बिधान संसोधनसहित महत्वपुर्ण निर्णय भएका छन्।

यससँगै एन्जाले क्वीन्सल्याण्डको नेपाली समूदायका अगुवाहरुसँग अन्तरक्रिया समेत सम्पन्न गरेको छ। एन्जाका सचिव सरल गुरुङको संयोजनमा आयोजित सामूदायिक अन्तरक्रियाको सञ्चालन महासचिव नारायण खड्काले गरेका थिए। अष्ट्रेलियाका सामाजिक संघ संस्था, व्यवसायी तथा ब्रिस्वेनको नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा मिलन दाहालले एन्जाको विगत र स्थापनाको विषय प्रष्ट्याएका थिए।

यसैगरी सचिव सरल गुरुङले पत्रकारिता, समूदाय र व्यवसायीबीच हुनुपर्ने सम्बन्धका विषयमा आफ्नो प्रस्तुति दिएका थिए। यस्तै समूदायको तर्फबाट पत्रकारहरुबाट गरिने अपेक्षा विषयमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेलको प्रस्तुति रहेको थियो भने ब्रिसबेनमा एनआरएनले हालसम्म गरेका कामको विषयमा कार्यवाहक संयोजक श्याम बस्नेतले आफ्नो भनाई राखेका थिए।

प्रस्तुतिपछि समूदायको तर्फबाट आएका जिज्ञासाहरुको जवाफ एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटाले दिएका थिए। कार्यक्रममा नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डको तर्फबाट राजन कोइरालाले अष्ट्रेलियाको नियम कानूनको परिधिमा रही समूदायका लागि पत्रकारले दिएको योगदान स्मरण गरेका थिए। उनले भाषाका विषयमा अझ बढी सजग रहनुपर्ने सुझाव समेत दिए।

साधारण सभामा एनआरएनए अष्ट्रेलियाका पब्लिक रिलेसन अफिसर अतुल खड्का, एनआरएन आइसीसी सदस्य टिका भुर्तेल, क्वीएनसीसीका अध्यक्ष डा केशव शर्मा, एनएक्यूका अध्यक्ष हेमाङ्ग शर्मा, नारीनिकुञ्ज क्वीन्सल्याण्डकी संयोजक पारु सापकोटा, एनआरएन क्वीन्सल्याण्डका सदस्य मार्क अर्याल जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री अच्युत अधिकारी, प्रवासी नेपाली मञ्च क्वीन्सल्याण्डका अध्यक्ष रमेश पाण्डे, अभिमानसिंह बस्नेत, उमेश खड्का, ईश्वर कुईकेल, अभिमन्यू केसी, डा जित आले, अन्नपुर्ण पोष्टकी समाचारदाता तारा चापागाईँ, १३ औँ सागमा तेक्वान्दो तर्फबाट स्वर्ण विजेता काजी श्रेष्ठ र विरबहादुर महरा लगायतले सक्रिय सहभागिता जनाएका थिए।

सामुदायिक छलफलमा उपाध्यक्षद्वय प्रकाश हुमागाई, छत्र शंकर, महासचिव नारायण खड्का, कोषाध्यक्ष खगेन्द्र सत्याल, सदस्य डा भरतराज पौडेल, किरण खनाल लगायतको उपस्थिति रहेको थियो।

अन्तमा संस्थाका सचिव गुरुङले साधारण सभामा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि क्वीन्सल्याण्डका नेपाली व्यवसायी, संघ सस्था र समाजिक अगुवालाई धन्यवाद दिएका थिए।

यसअघि एन्जा र एनआरएन अष्ट्रेलियाबीच आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा बैठक सम्पन्न भएको थियो। बैठकमा एन्जाको तर्फबाट अध्यक्ष देवकोटाले ७ सय ५० अष्ट्रेलियन डलर नेपालको पश्चिम क्षेत्रमा हालै गएको भूकम्प पीडितको पुनस्र्थापनाका लागि एनआरएन अष्ट्रेलियाले आयोजना गर्ने कार्यक्रममा सहयोग हस्तान्तरण गरेका थिए।