डेढ महिना अघि नेपालबाट सिड्नी आएका युवा कोठामै मृत भेटिए

डेढ महिना अघि नेपालबाट सिड्नी आएका युवा कोठामै मृत भेटिए


सिड्नी, अष्ट्रेलिया ।

काठमाडौंको बुढानीलकण्ठ गोल्फुटारका सुजन बस्नेत सिड्नीमा मृत अवस्थामा फेला परेका छन् । घटना गत बिहीबार ३ मार्चको हो । मार्च २ तारिखमा कलेज जानुपर्ने उनी भोलिपल्ट आफ्नो डेरामा नै मृत अवस्थामा फेला परेका हुन् । यस विषयमा न्यूसाउथवेल्स प्रहरीले छानविन गरिरहेको छ । उनी सिड्नीको अबर्न क्षेत्रमा बस्दै आएका थिए ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिका सचिव विनोद कुँवरले आफुहरु परिवारको सम्पर्कमा रहेको र पोष्टमार्टम पछि उनको शवलाई नेपाल पठाउन गोफन्डमी मार्फत सहयोग संकलन गरिएको जानकारी दिएका छन् । उनले भने, “परिवारले सुजन भाईको शवलाई नेपालनै पठाइदिन आग्रह गर्नुभएको हो । त्यसै अनुसार गोफन्डमी मार्फत सहयोग संकलन गरिरहेका छौं । १० हजार डलर संकलन गर्ने लक्ष्य हो ।”

सुजनको शव नेपाल पठाउन सहयोग गर्न गोफन्डमीको यो लिंकमा क्लीक गर्नुस् । Click here>>

डेढ महिना अघि अष्ट्रेलिया आएका सुजन बस्नेत केही समय आफन्तहरुसँग बसेपछि आफ्नै कोठा खोजेर सरेका थिए । काममा समेत जान थालेका उनले तीन साता काम गरिसकेका थिए । सुजनले घटनाअघि आफ्नो ल्यापटपको पासवर्ड, बैंक खाताको पासवर्ड लगायत “आवश्यक पर्न सक्छ” भन्दै परिवारका सदस्यलाई उपलब्ध गराएको बुझिएको छ ।

अष्ट्रेलियामा पछिल्लो समय सानो उमेरमै पढाईका लागि आउने नेपाली विद्यार्थीहरुको संख्या बढेसँगै उनीहरुमा विभिन्न जोखिम समेत बढ्दै गएको छ । परिवारबाट टाढा अनि भागदौडको जीवनमा कलिलो उमेरका युवाहरुले सही र गलत छुट्याउन नसक्ने, निर्णय गर्न नसक्ने र सुदूर भविष्य देख्न नसक्ने लगायतका कारणहरुले गर्दा समाजका सदस्यहरु गुमाउनु परिरहेको छ ।