कांग्रेस बारामा विवाद, निर्वाचन रद्द, मतपत्र जलाइयो

कांग्रेस बारामा विवाद, निर्वाचन रद्द, मतपत्र जलाइयो


काठमाडौं, २१ फागुन । मतदान जारी रहेको बेला विवाद भएपछि नेपाली कांग्रेस बाराको निर्वाचन रद्द गरिएको छ । कलैयाको सिद्धेश्वर संस्कृत माविमा आज भएको निर्वाचनमा मतपत्र कब्जामा लिएर फर्जी मत खसाल्न थालिएपछि निर्वाचन नै रद्द गरी सबै मतपत्र जलाइएको हो ।
मतदान स्थलमा नाराबाजीसँगै प्रदर्शन भएको छ । पुनः मतदानको लागि आइतबार बैठक बसेर तय गरिने भएको छ । २ नम्बर निर्वाचन क्षेत्रको ४ वटा बुथमा फर्जी मत खसेपछि अनुगमनको क्रममा अमर्यादित क्रियाकलाप पाइएको हो ।
तयारी अपुग, मतदान स्थलकहाँ तोक्ने र मतपत्र छाप्न ढिलाइ भएकोले मतदान दिउँसो १ बजेदेखि सुरु भएको थियो । पदाधिकारीसहित ८० पदका लागि २ सय २७ जना प्रतिस्पर्धा छन् । कुल मतदाता २ हजार ४ सय ८१ मध्ये १ हजार ३ सय मत खसेको थियो ।
‘इन्ट्री गरेको मतपत्रभन्दा बढी मतपत्रखसेको पाइएको थियो । अमर्यादित हुन थालेपछि उत्छृंखल मच्चाउने डरले सुरक्षाकर्मीको सहयोग र उम्मेदवारको सल्लाहमा सबै मतपत्र जलाइएको छ । कुन पक्षले मतपत्र कब्जा गरे भनेर एकिन हुन सकेको छैन ।
सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन भड्किलो, खर्चिलो भएको छ । सबै उम्मेदवारले भोजभतेरदेखि प्रचारप्रसारमा व्यापक खर्च गरेको देखिएको छ । तीनै उम्मेदवारले आ–आफ्नो जित हुने दाबी गरेका छन् । संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय गरी दुई जनाले उम्मेदवारी दिएका छन् । शेखर कोइराला र कृष्ण सिटौलाको समूहको समर्थनमा रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् । उनीहरु प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।